पोखरा भ्रमणमा आएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पोखरेलीले आत्मीयतापूर्वक स्वागत गरेका छन् । नेपाली सेनाको विमानमार्फत आज दिउँसो पोखराको पुरानो विमानस्थलमा ओर्लिएका उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोलीले भव्य स्वागत गरेको हो ।
मुख्यमन्त्री पाण्डेले सयपत्री फूलको माला र पोखरा महानगरका प्रमुख धनराज आचार्यले ढाकाटोपी पहिराएर महासचिव गुटेरेसलाई स्वागत गरेका थिए । उनको स्वागतमा प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ व्यक्तिहरू विमानस्थल पुगेका थिए ।
तिहारको छेकोमा पोखरा भ्रमणमा आएका महासचिव गुटेरेस सयपत्रीको माला र ढाका टोपीमा सजिँदा नेपालीपन झल्केको थियो । खुसी मुद्रामा उनले पोखरेलीको न्यानो स्वागत ग्रहण गरेको देखिन्थ्यो । शरदयामको घमाइलो दिन भएकाले प्रकृतिले पनि महासचिव गुटेरेसलाई स्वागत गरे झैँ भान मिल्थ्यो । आज बिहानैदेखि पोखराको मौसम खुलेको थियो ।
महासचिव गुटेरेसको स्वागतार्थ विमानस्थलको बाहिरपट्टी सांस्कृतिक झाँकीसहित मौलिक नाच प्रस्तुत गरिएको थियो । नेवारी समुदायमा प्रचलित तायमचा, जनजाति समुदायको सोरठी, नौमती बाजालगायत मौलिक संस्कृति देखाइएको थियो । परम्परागत वेशभूषामा सजिएका आमा समूह, जनप्रनिधि, पर्यटन व्यवसायीलगायतले महासचिव गुटेरसलाई स्वागत गरेका थिए ।
चारदिने औपचारिक भ्रमणमा क्रममा आइतबार नेपाल आएका उनी आज पोखरा भ्रमणमा आएका हुन् । उनी सोमबार फेवा किनारस्थित होटल फिस्टेलमा बस्नेछन् । महासचिव गुटेरेस मङ्गलबार बिहान विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम छ ।































प्रतिक्रिया