संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी जाँदैछन्। नेपालको औपचारिक भ्रमणमा रहेका उनि आज बिहान पर्यटकीय नगर पोखराबाट लुम्बिनी जान लागेका हुन्।
महासचिव गुटेरेस अहिले बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमा बिहान लुम्बिनी पुग्ने कार्यक्रम रहेको छ। हेलिकोप्टरमा लुम्बिनी पुगेपछि महासचिवलाई चार नम्बर गेटबाट गाडीमा शान्ति दीपमा लगिने छ।
लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार महासचिवलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारूलगायत विभिन्न जातीय समूह र होटल व्यवसायीले समेत शान्तिदीपबाट मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गर्नेछन्।
महासचिवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारीले स्वागत गर्ने कार्यक्रम छ। मन्त्री किराती र मुख्यमन्त्री चौधरी सोमबार नै लुम्बिनी पुगेका छन्। प्रधानमन्त्री दाहाल आज बिहान काठमाडौँबाट आउने कार्यक्रम छ।
महासचिवले लुम्बिनीमा वृक्षरोपण गर्नेछन्। लुम्बिनीमा डेढ घण्टा बिताएपछि उनि आज नै काठमाडौँ फर्कने गरी कार्यक्रम तालिका बनेको कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले बताए।
महासचिवको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचार–प्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।
महासचिवको भ्रमणलाई लक्षित गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्मको आवश्यक सुरक्षा व्यवस्था चुस्त बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए।





























प्रतिक्रिया