काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण लामो समय बजार बन्द हुँदा बैंकमा सुन थन्किएको छ ।
सरकारले गत चैत ११ गतेदेखि मुलुकभरी नै लकडाउन गरेको छ । सो अवधिदेखि सुन बजार पूर्णरुपमा बन्द भएका कारण बिक्री हुन नसक्दा बैंकमा सुन थुप्रिएको हो ।
नेपाल बैंकर्स संघको पछिल्लो तथ्यांक अनुसार अहिले बैंकसँग ३४४.५ केजी सुन स्टक छ । जसमध्ये २१७.५ केजी काठमाडौँ उपत्यकामा स्टक छ भने १२७ केजी उपत्यका बाहिर स्टक रहेको संघले जनाएको छ । बैंकहरुले चालु आर्थिक वर्षमा कुल २४५० केजी सुन आयात गरेका छन् । जसमा १२५० केजी काठमाडौँ उपत्यकामा र एक हजार २ सय केजी उपत्यका बाहिर पठाइएको संघको तथ्यांकले देखाएको छ । वाणिज्य बैंकको नियम अनुसार सामान्यतया २० किलो र चाडबाडका बेलामा २५ किलोसम्म सुन ल्याउन पाइन्छ ।
एकातिर कोरोनाका कारण आर्थिक मन्दी आएका कारण सुन बेच्दै दैनिक उपभोग्य बस्तु किन्न थालेका छन् भने अर्काेतिर हरेक दिन जसो सुनको मुल्य आकासिएकाले पनि नयाँ सुन विक्री हुन सकेको छैन । सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यले सुनको नयाँ माग नआएको तथा पुरानै सुन बेच्ने बढेकाले बैंकमा सुन थुप्रिएको बताए । सुन हरेक दिन जसो बढिरहेकाले नयाँ सुन किन्ने भन्दा बेच्ने बढी भएको पूर्व अध्यक्ष शाक्यले बताए ।
यसअघि नै नेपालमा सुनको मुल्य १ लाख नाघ्ने अनुमान गरिएपनि तत्काल १ लाख ननाघ्ने उनले बताए । अन्तर्राष्ट्रिय क्षेत्रका विश्लेषकहरुले पनि सुनको भाउ अझैे बढ्न सक्ने विश्लेषण गरेका छन् । अन्तर्राष्ट्रिय स्तरमा सुनको भाउ बढ्दा त्यसको प्रभाव नेपालमा पनि पर्छ । जसका कारण अन्तर्राष्ट्रियसँगै नेपालमा पनि सुनको मुल्य आकासिएको हो ।
अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य १ हजार ७५३ डलर हाराहारीमा कारोबार भइरहेको छ । कोरोना माहामारीकै कारण सुनको मुल्य १ हजार ८०० डलर पुग्ने आँकलन गरिएको छ । नेपालको सन्दर्भमा यो मुल्य ९३ हजार रुपैयाँको हाराहारी हो ।
बुधबार नेपालमा पुनः सुनको भाउ बढेको छ । छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार एक सय पुगेको हो । तेजावी सुन पनि आज तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ६६५ रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७८ हजार १०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७७ हजार ७३० रुपैयाँ तोकेको छ । मंगलबार प्रतितोला सुनको ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी पनि आज बुधबार तोलामा पाँच रुपैयाँले बढेर प्रति तोला ९४५ रुपैयाँ पुगेको छ । आज प्रति १० ग्राम चाँदीको मूल्य ८१० रुपैयाँ कायम गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुनको भन्सार दर २ हजार रुपैयाँले बढाएको छ । सरकारको यस्तो निर्णयपछि सुन थप महँगो भएको छ ।
कोरोना भाइरसको महामारीका कारण विश्वका अधिकांश मुलुकहरुको आर्थिक अवस्था शिथिल बन्दै गइरहेको छ । लगानीको बतावरण छैन । उद्योग व्यवसायहरु,पर्यटन,रोजगार,स्वदेश तथा वैदेशिक लगानी प्रभावित भएका छन् । अन्य व्यवसायमा लगानीको वातावरण नभएपछि लगानीकर्ताहरु सुनमा आकर्षित हुँदा सुनको भाउ उच्च रुपले बढिरहेको छ ।
यसअघि विश्वका शक्तिशाली राष्ट्रहरुको व्यापार युद्धका कारण सुनको मूल्य उच्च रुपले बढेको थियो । अहिले सुनको कारोबार लगभग शुन्य छ ।































प्रतिक्रिया