शीर्ष नेताहरूलाई शीतल निवासको निम्तोले बाहिर तरङ्ग, राष्ट्रपति कार्यालय भन्छ- ‘सामान्य’

शीर्ष नेताहरूलाई शीतल निवासको निम्तोले बाहिर तरङ्ग, राष्ट्रपति कार्यालय भन्छ- ‘सामान्य’

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले आज समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति निवास शीतल निवासमा डाकेकी छन् ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड –१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शीलत निवासमा साँझ ५ बजे नेताहरुलाई भेटघाटका लागि बोलाएको जानकारी दिए । उनका अनुसार छलफलमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको छ ।

‘‘कोभिड –१९ को कारण बन्दाबन्दीले गर्दा राजनीतिक दलका शीर्ष नेतासंँग राष्ट्रपतिको तीनचार महिना नै भेट भएको थिएन ’’, उनले भने, ‘‘ सामूहिक भेट गर्न र समसामयिक विषयमा छलफल गर्न उहाँहरुलाई बोलाउनु भएको हो । उहाँको यो नियमित भेटघाट पनि हो ।’’

शीतल निवासमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, डा बावुराम भट्टराई, लोकेन्द्रबहादुर चन्दलगायत संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई डाकिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको आजै बहुप्रतिक्षित स्थायी कमिटी बैठक बस्दै छ । यही बेला राष्ट्रपतिले नेताहरुलाई शीतल निवासमा बोलाउनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

Logo