बर्दिवासमा पत्ता लागेको मध्यपाषण युगको हतियार कारखानाबारे पुरातत्वविदको चासो बढ्याे

बर्दिवासमा पत्ता लागेको मध्यपाषण युगको हतियार कारखानाबारे पुरातत्वविदको चासो बढ्याे

केन्द्रबिन्दु
0
Shares

महोत्तरीको पाटुमा भेटिएको मध्यपाषण युगको हतियार कारखानाबारे पुरातत्वविदहरुले चासो देखाएका छन्। पुरातत्वविद प्रकाश दर्नालले गुड्रन कर्विन्सले पत्ता लगाएको हतियार कारखानाको थप अनुसन्धान र खोजी गरि संरक्षित क्षेत्र घोषण गर्नुपर्ने बताएका हुन्।

कर्विन्सले १९८५ मा बर्दिवास-३ स्थित पाटुमा फेला पारेको १० हजार बर्ष पुरानो हतियार कारखाना पुरातत्विक सम्पदाको हिसावले महत्वपूर्ण भएको बताउदै स्थानिय सरकारले विशेष चासो दिनुपर्ने उनकाे सुझाव छ।

लामो समयदेखी पुरातत्विक सम्पदाका कै क्षेत्रमा कलम चलाउदै आएका गोविन्द न्यौपानेले स्थानिय सरकारको पहल कदमलाई नै जोड दिएका छन्।
 
कार्विन्सले  आफ्नो किताब (प्रिहिज्टोरिक कल्चर्स इन नेपाल भोलम १, पुष्ट २३९, सन २००७) मा  अहिलेको पाटु र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पूरानो भएको उल्लेख गरेकी थिइन्। 

यसका लागि उनले सन् १९८५ को दशकमा १० वर्ष लगाएर पाटुको अध्ययन गरेकी थिइन्। रातो माटोले पुरिएको अवस्थामा हजारौं मध्य पाषण युगका हतियारहरु भेटिए पछि यो नै मध्यपाषण युगको हतियार कारखाना भएको उनकाे निष्कर्षमा थियो।

पछिल्लो समय स्थानिय पत्रकारहरुले यसकाे विषयमा थप खोजी गर्न थालेपछी चर्चा चुलिदै गएको छ। पाटुमा फेला परेका केही हतियारहरुलाई राष्ट्रिय पुरातत्विक केन्द्रमा पनि संग्रहित गरिएको छ। तर चुरे दोहन र उत्तखननका कारण कर्विन्सले पत्ता लगाएका हतियारहरु नै हराउन सक्ने खतरा बढेको छ।

स्थानियहरुको अतिक्रमण, ट्याक्टर व्यवसायीहरुको नदिजन्य पदार्थको उत्खननजस्ता समस्याहरुले थप संवेदनशीलता अपनाउनुपर्ने स्थानियह बताउँछन्। 

समाचारको माध्यमबाट प्रचार प्रसार भएपछि यसकाे थप खोजीमा जुटेका केही स्थानियहरुले  उत्खननका कारण यो पुरातत्विक सम्पदा नै जोखिममा रहेको गुनासो गरेका छन्। केही हतियारका अवशेष समेत संकलन गरेर राखेका स्थानिय रमेश खत्री ट्याक्टरहरुले त्यस्ता अनौठा ढुंगाहरु उठाउने गरेको बताउँछन्।

अविलम्ब यो ठाउँलाई सुरक्षित गरि पुरातत्विक सम्पदाको जगेर्ना गर्न स्थानियहरुले जनप्रतिनिधिहरुसँग माग समेत गरेका छन्। ठाउँको पहिचान गरि उक्त क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने उनीहरुको सुझाव छ।

Logo