हराएका ३०८ मोटरसाइकल फेला, लकडाउनमा मात्र ३० वटा भेटिए

हराएका ३०८ मोटरसाइकल फेला, लकडाउनमा मात्र ३० वटा भेटिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

हराएर माया मारेको चिज पाउँदा कसलाई खुशी लाग्दैन र ? मंगलबार काठमाडौँमा ३० जना मोटरसाइकल धनी त्यस्तै खुशी देखिए। हराएको मोटरसाइकल पाउँला भन्ने उनीहरुलाई कति पनि थिएन, तर फेला परेपछि उनीहरुमा खुशीको सीमा रहेन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्यालयमा परेको उजुरीको आधारमा खोजी अभियान चलाउँदा बन्दाबन्दीको अवधिमा मात्रै ३० मोटरसाइकल फेला पार्यो । भेटिएका मोटरसाइकल आवश्यक कानूनी प्रक्रिया पूरा गरेर मंगलबार महाशाखाले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

कतिको पार्किङ गरेको केही मिनेटमा मोटरसाइकल हराएको थियो भने कसैको राति राखेको ठाउँबाट मोटरसाइकल हराएको थियो । त्यसरी मोटरसाइकल हराउनेमा नेपाली सेनाका जवान अन्तप्रसाद श्रेष्ठ पनि एक हुन् । केशरमहलस्थित राहदानी विभागमा कार्यस्थलमा खटिँदा गत पुस १३ गते उनको पार्किङमा राखिएको मोटरसाइकल हराएको थियो ।

श्रेष्ठलाई मोटरसाइकल के भेटिएला र भन्ने लागेको थियो । प्रहरीले दरबारमार्गबाट मोटरसाइकल फेला पार्यो । मंगलबार महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट भरपाइ गरेर मोटरसाइकल बुझ्दै गर्दा श्रेष्ठले भने, “हराएको मोटरसाइकल सकुशल पाउँदा औधी खुशी छु ।”

आशिष साउदको गत पुस २७ गते कीर्तिपुरबाट हराएको मोटरसाइकल पनि बन्दाबन्दीकै समयमा महाशाखाको टोलीले धापाखेलमा फेला पारेर ल्याएको छ । हराएको मोटरसाइकल पाउँदा उनी पनि खुशी देखिए ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोभिड–१९ रोक्न सरकारले जारी गरेको आदेश बन्दाबन्दीलाई पूर्ण कार्यान्वयन गर्ने जिम्मेवारी हुँदाहुँदै पनि चोरी ट्राफिक नियम उल्लङ्घनविरुद्ध छुट्टै टोली परिचालन गरिएको बताए। बन्दाबन्दीमा चलाइएको चोरी नियन्त्रण अभियानका क्रममा मात्रै ती मोटरसाइकल फेला पारेर धनीलाई बुझाइएको उनले बताए। उनले यसरी चोरी हुन सक्ने भएकाले आफ्नो मोटरससाइकल सुरक्षित रुपमा राख्नसमेत आग्रह गरेका छन् ।

आव २०७६/७७ मा महाशाखाले चोरी भएको ३०८ मोटरसाइकल फेला पारेर धनीलाई बुझाएको छ । चोरीमा संलग्न ३६ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको उनले जानकारी दिए।रासस

Logo