पशुपन्छीको उपचारका लागि भूकम्प प्रभावित क्षेत्रमा पुग्यो पशु विशेषज्ञ टोली

पशुपन्छीको उपचारका लागि भूकम्प प्रभावित क्षेत्रमा पुग्यो पशु विशेषज्ञ टोली

केन्द्रबिन्दु
0
Shares

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उपचारको लागि विशेषज्ञ टोली पठाएको छ। भूकम्पबाट प्रभावित पशुपन्छीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली शनिबार प्रभावित क्षेत्रमा पठाएको हो। 

कृषि मन्त्रालयका सचिव डा.रेवतीरवण पौडेलका अनुसार पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा.लक्ष्मीनारायण दासको नेतृत्वमा देवीराम कँडेल र डा. राकेश प्रजापतीको नेतृत्वमा शम्सेर जिसीलाई भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम पठाइएको छ। उनीहरुले भूकम्पले बढी प्रभावित बनेको जाजरकोट र रुकुम पश्चिममा पशुचौपायाको उपचारमा खटिने छ।

स्थानीय र प्रदेश सरकार मातहतका पशु स्वास्थ्यकर्मीको समेत परिचालन गरी पशुपन्छीको उपचारमा लाग्ने टोलीले जनाएको छ। शुक्रबार रातिको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा ठूलो संख्यामा मानविय र भौतिक क्षति भएको छ। सँगै धेरै घरपालुवा पशुचौपाय पनि भूकम्पबाट प्रभावित भएको छ।  

भूकम्पबाट पशुपन्छीसमेत प्रभावित भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले प्रभावित क्षेत्रमा विशेषज्ञ टोली पठाउन निर्देशन दिएका थिए। कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले केन्द्रीय मन्त्रालयमा जाजरकोटमा भूकम्पबाट गाई, भैसी, बाख्रा गरी २७ पशुको क्षति भएको विवरण दिएको छ। थप विवरण संकलन भइरहेको कर्णाली प्रदेश मन्त्रायलले जनाएको छ।

Logo