नेपालमा पहिलोपटक हाइड्रोजन इन्धनबाट चल्ने गाडी भित्रिएको छ । काठमाडौं विश्वविद्यालय (केयु) को ग्रीन हाइड्रोइन ल्याबले शनिबार नेपालमै पहिलोपटक हाड्रडोजनबाट चल्ने कार भित्र्याएको हो ।
केयुको ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. विराज सिंह थापाका अनुसार ग्रीन हाइड्रोजनमा अध्ययन अनुसन्धान गरिरहेकालाई यसको व्यावसायिक उत्पादन र प्रयोगलाई बल पुर्याउन यो गाडी नेपाल ल्याइएको हो । नेपाल आयल निगमको सहयोगमा भित्रिएको करिब ८० लाख रुपैयाँ मूल्य पर्ने यो गाडीको पावर १६१ हर्स पावर अर्थात १२० किलोवाट क्षमताको रहेको छ । जसले ६११.५५१ किमि रेञ्ज दिने बताइएको छ ।
ल्याबले हाइड्रोजन कार र रिफिलिङ स्टेशनका लागि आफ्नै डिजाइन तयार पारेको छ । तर आफ्नै डिजाइनमा तयार भएको कार बनाउन महंगो पर्ने भएपछि हाल हुन्डाइले बनाएको कार खरिद गरिएको हो । करिब एक हप्तामा केयुमा हाइड्रोजन कारको परीक्षण सुरू हुनेछ ।
तर यातायात व्यवस्था विभागले भने अहिलेसम्म हाइड्रोजनबाट चल्ने सवारी साधनका लागि नम्बर प्लेटको व्यवस्था गरेको छैन । हाइड्रोजनलाई इन्धनको रूपमा वर्गीकरण गर्न सकेको खण्डमा यी कुराहरू पनि अघि बढ्दै जाने अपेक्षाका साथ केयुले हाइड्रोजन कार र हाइड्रोजन रिफिलिङ स्टेसन प्रयोगात्मक रूपमा भित्र्याएको हो ।
नेपालसँग भएको पानी र बिजुली प्रयोग गरेर हाइड्रोजन उत्पादन गरेमा जीवाश्म इन्धन खरिदका लागि बाहिरिएको रकम स्वदेशमै राख्न सकिने ल्याबका प्रमुख थापा बताउँछन् । विद्युतीय गाडीको ब्याट्रीमा भण्डार भएको बिजुली चाँडै सकिन्छ । त्यसमाथि थोरै मात्र भण्डार गर्न सकिन्छ । चार्ज गर्न पनि लामो समय लाग्छ । तर हाइड्रोजन गाडीमा ३ देखि ५ मिनेटमै हाइड्रोजन रिफिल गर्न सकिन्छ । एक पटक हाइड्रोजन हालेपछि ८०० देखि १२ सय किमिसम्म पनि रेन्ज दिन सक्छ । त्यसकारण पनि हाइड्रोजनले नेपालको समृद्धिको ढोका खोल्न सक्ने अपेक्षा गरिएको छ ।































प्रतिक्रिया