नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन अनुरोध गरेको छ।
प्रहरीले उजुरी दिनका लागि भोलिसम्मको समयसीमा तोकेको छ। केही पीडित उजुरी लिएर आएका र उनीहरुको उजुरी दर्ता भएको जानकारी गराउँदै सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले रकम प्राप्त गर्न नसकेको भए जाहेरी दिन बचतकर्तासमक्ष अनुरोध गरिएको जानकारी दिए।
उनका अनुसार उक्त सहकारीबाट अहिलेसम्म झण्डै रु ५० करोड बिगो बराबरको रकम हिनामिहना भएको भनी जाहेरी परेको छ। जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरिएको उनले बताए।
निक्षेपकर्ता सदस्यले ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रही भक्तपुर र काठमाडौँको सेवा केन्द्रमार्फत समेतमा बचत तथा मुद्दति खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज समयावधि सकिँदासमेत पनि फिर्ता नपाएको भनी जाहेरी दरखास्त पेश भएको उनले बताए।
उक्त रकम हिनामिना कसुरको जाहेरी दर्ता गरी व्यूरोबाट अनुसन्धान कार्य भइरहेकाले आवश्यक अनुसन्धानका लागि पनि पीडित बचतकर्तालाई सम्पर्कमा आउन अनुरोध गरिएको हो। उनले भोलि कात्तिक २४ गतेभित्र सम्पर्कमा आई जाहेरी दिन पनि सिआइपीले अनुरोध गरेको बताए।
सिआइबीका प्रहरी उपरीक्षक अधिकारीले भने, “ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका सेवा केन्द्रमा निक्षेपकर्ता सदस्यले जम्मा गरेका निक्षेप रकम हिनामिना भई ठगी हुन गएको भए उक्त कार्यमा संलग्न व्यक्तिउपर प्रमाणसहित ब्यूरोमा रीतपूर्वकको जाहेरी दिनहुन अनुरोध छ।”































प्रतिक्रिया