उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ बन्ने

उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ बन्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सवारी व्यवस्थापन गर्न काठमाडौँ उपत्यकाका तीन स्थानमा ‘फ्लाई ओभर’ निर्माण हुने भएको छ । व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न ती फ्लाई ओभर बन्न लागेका हुन् । ‘फ्लाई ओभर’ निर्माणको सर्वे तथा डिजाइनका लागि परामर्शदाता चयन प्रक्रिया अन्तिम चरणमा रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार साउनभित्र परामर्शदाता कम्पनी चयन भई सम्झौता सम्पन्न हुनेछ ।

चक्रपथको कोटेश्वर–कलङ्की खण्डको एकान्तकुना, ग्वार्को तथा सातदोबाटो र चापागाउँ चोकलाई जोडेर ‘फ्लाई ओभर’ निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको सडक विभाग, गुणस्तर अनुसन्धान विकास केन्द्रका निर्देशक शिव नेपालले जानकारी दिए । चक्रपथमा ‘फ्लाई ओभर’ निर्माणनिम्ति सर्वे तथा डिजाइनका लागि परामर्शदाता चयन गर्न बोलपत्र आह्वान भई छनोट प्रक्रिया अन्तिम चरणमा छ । निर्देशक नेपालले भने, “साउनभित्र परामर्शदाता कम्पनीसँग सम्झौता भइसक्छ ।”

उनका अनुसार सम्झौता भएको छ महिनाभित्र चक्रपथको सो क्षेत्रमा सर्वे र डिजाइनको काम सम्पन्न भई ड्राफ्ट रिपोर्ट प्राप्त भइसक्नेछ । ड्राफ्ट रिपोर्टमा देखिएको कमीकमजोरी सुधार गरी एक महिनाभित्र अन्तिम प्रतिवेदन परामर्शदाता चयनका लागि सडक विभागले गएको फागुनमा बोलपत्र आह्वान गरेको थियो ।

“परामर्शदाता चयनका लागि बोलपत्र आह्वान गरिएकोमा चारवटा नेपाली कम्पनीको प्रस्ताव प्राप्त भएको छ”, निर्देशक नेपालले भने, “प्राप्त प्रस्तावमध्ये अहिले प्राविधिक प्रस्तावको मूल्याङ्कन भइरहेको छ । प्राविधिक मूल्याङ्कनमा उत्कृष्ट ठहरिएका कम्पनीको आर्थिक मूल्याङ्कन गरिनेछ । दुइटै मूल्याङ्कनमा उत्कृष्ट ठहरिएका कम्पनीसँग सम्झौता गरी काम अगाडि बढाइनेछ ।”

त्रिपुरेश्वर–थापाथली–माइतीघर सडकखण्डमा बढ्दै गएको सवारी चाप कम गर्न यसअघि नै जापानी सहयोग नियोग (जाइका) ले त्रिपुरेश्वरदेखि माइतीघरसम्म सीधा ‘फ्लाई ओभर’ बनाउने सुझावसहितको प्रतिवेदन सरकारसमक्ष बुझाइसकेको छ । यो ‘फ्लाई ओभर’ निर्माणसँगै त्रिपुरेश्वर, थापाथली र माइतीघरको जाम पूर्ण रूपमा हट्ने सो प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौँको ट्राफिक व्यवस्थापनमा सबभन्दा ठूलो समस्याका रूपमा रहेको कोटेश्वर–जडीबुटीमा ‘फ्लाई ओभर’ निर्माणको चर्चा पटक पटक भए पनि काम अगाडि बढ्न सकेको छैन । यो क्षेत्रको जाम हटाउन तथा ट्राफिक व्यवस्थापनबारे जापानी सहयोग नियोग (जाइका) ले यसअघि नै अध्ययन गरी विभिन्न सुझावसहित सरकारलाई प्रतिवेदन बुझाइसकेको छ तर काम अगाडि बढ्न सकेको छैन ।

बजेटमा व्यवस्था
आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा समेत चक्रपथका तीन स्थानमा नेपालकै पहिलो ‘फ्लाई ओभर’ निर्माण गरिने भनेर उल्लेख गरिएको छ । त्यसैगरी काठमाडौँको तीनकुने–कोटेश्वर–जडीबुटी खण्डमा सम्भाव्यता अध्ययन पूरा गरी ‘फ्लाई ओभर’ तथा सुरुङ मार्ग निर्माण प्रारम्भ गर्न तथा नयाँ बानेश्वरमा अन्डर पास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म सवारी आवागमन सहज गर्न उपयुक्त विकल्प पहिचान गरी निर्माण सुरु गरिने वक्तव्यमा उल्लेख छ ।गोरखापत्रबाट

Skip This
Skip This
Logo