काठमाडौं ।
ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र माछापुच्छ्रे बैंकबीच ट्रेकिंग गाईडहरुलाई क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने सम्बन्धमा दुईपक्षीय समझदारी भएको छ ।
उक्त समझदारीपत्रमा माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सर्जु कुमार थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्षर गरेर टानमा कार्यरत ट्रेकिङ गाईडहरुलाई एक लाख ८० हजारसम्मको क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौता भएको छ। विश्वयापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसको कारण पर्यटन क्षेत्र र मजदुरहरुमा पर्न गएको नकारात्मक प्रभावलाई मध्यनजर राख्दै टानको पहलमा आफ्ना सदस्य कम्पनीहरुमा कार्यरत ट्रेकिंग गाईडहरुलाई सहजिकरण गर्न माछापुच्छ्रे बैंकसँग समझदारी गरेको टानका अध्यक्ष खुम सुवेदीले जानकारी दिए।
बैंक र टानबीच टानका सदस्य कम्पनीमा कार्यरत ट्रेकिंग गाईडहरुलाई मासिक र १५ हजार देखि १ लाख ८० हजार सम्मको सिमा सहितको क्रेडिट कार्ड उपलब्ध गराईने तथा उक्त सिमा आंशिकरुपमा र ९० हजार गरी दुई वटा चरणमा प्रत्येक अर्ध वार्षिक समयावधिमा प्रदान गरिने छ। उक्त रकम ट्रेकिंग गाईडहरुले मासिक ५ प्रतिशतको दरले एक बर्षसम्म भुक्तानि गर्नुपर्नेछ ।
क्रेडिट कार्ड सुविधा उपभोग गर्नका लागी आवेदकको उमेर न्यूनतम २१ बर्ष र अथिकतम ६५ बर्ष हुनुपर्दछ र ट्रेकिंग गाईडहरुले माछापुच्छ्रे बैंकमा खाता खोली छुट्टै डेबिट अथोरिटि दिनुपर्नेछ । सो सुविधा प्रयोग गर्न ट्रेकिंग गाईड कार्यरत ट्रेकिंग कम्पनीले जमानत अनिवार्य बस्नु पर्नेछ र यदि ट्रेकिंग गाईडले शर्त बमोजिम रकम भुक्तान गर्न नसकेको अवस्थामा बाँकी रहेको बक्यौता तिर्ने दायत्व ट्रेकिंग गाईड कार्यरत ट्रेकिंग एजेन्सिको हुनेछ ।
उक्त समझदारीपत्र हस्ताक्षर समारोहमा टानका महासचिव सरिता लामा, वरिष्ठ उपाध्यक्ष नविन त्रिताल, कोषाध्यक्ष ऋतु ग्याम्दान, सदस्य कान्छा शेर्पा, माछापुच्छ्रे बैंकका प्रबन्धक सुनिल खतिवडा, उपप्रमुख (डिजिटल बैंकिंग) विनय रेग्मी र शाखा प्रबन्धक समिर रैनको उपस्थिति रहेको थियो ।































प्रतिक्रिया