नेपालमा नै अत्यन्त गुणस्तरका घोडा उत्पादन हुन्छ। तर नेपालमा उन्नत जातका घोडाका नाममा महँगो मूल्यमा भारत, हंगेरी, स्लोभागिया लगायतका देशबाट घोडा भित्रिन्छन्।
दोलखाको विगु गाउँपालिकाको लप्चीका स्थानीयको मुख्य पेसा नै याक-चौँरी र घोडा पालन हो। यो विकट गाउँका किसानले पुस्तौँदेखि चौँरी र घोडा पाल्दै आएका छन्। तर गाउँको उत्पादन आफ्नो देश भित्र बिक्री गर्न ल्याउने बाटो समेत नहुँदा लप्चीवासीले तिब्बती बजारको भर पर्नुपरेको छ।
स्थानीय पेम्बा शेर्पाका अनुसार लप्चीका १३ घर किसानले नै घोडा पालेका छन्। हरेक वर्ष घोडाका बछेडा-बछेडी उत्पादन हुन्छन्। घोडा बेच्नेको लागि तिब्बती बजार पुर्याउनु पर्छ। लप्चीवासीले घोडा बेच्न तिब्बतको कुटी बजार पुर्याउँछन्।
लप्चीको घोडाको तिब्बतमा पनि राम्रो माग रहेको छ। ‘कुटीमा लप्चीको घोडा ५० हजारदेखि १ लाख २० हजार नेपाली रुपैयाँसम्ममा बिक्री हुन्छ, घोडा हेरेर मोल हुन्छ’, पेम्बाले भने।
लप्चिबाट तिब्बत र्पुयाइएको कतिपय घोडा त्यहाँबाट नेपाल तर्फ पनि आउँछन्। ‘नेपाल आउँदा ती घोडाको मूल्य निक्कै बढेर आउँछ। ती घोडा सोझै नेपाल ल्याउने हो भने आफ्नै देशका गुणस्तरीय घोडा सस्तो मूल्यमा आउने थिए’,नेपाल शेर्पा संघ वाग्मती प्रदेशका सचिव दावासङ्बु शेर्पाले भने।
लप्ची पुग्ने सडकको कुरै छाडौँ घोडेटो बाटो समेत छैन। दोलखाको सिंगटीबाट दुई दिनको जोखिमपूर्ण पहरोको पैदल यात्राबाट मात्र लप्ची पुगिन्छ। स्थानीयलाई आफ्नै देश भित्र आउजाउ गर्न जीवन जोखिममा पार्नुपर्छ। पशु बस्तु ल्याउने लैजाने कुरा त कल्पना गर्न पनि सकिँदैन।
अहिले विगुको थाङ्जेबुसम्म सडक खोल्ने क्रम चलिरहेको छ। त्यहाँसम्म सडक खुल्यो भने एक दिन पैदल यात्रा पछि लप्ची पुग्न सकिन्छ। त्यो पनि सहज बाटो छैन।
लप्चीसम्म पुग्ने घोडेटो बाटो मात्रै राम्रो बनाइदिने हो भने लप्चीका घोडा र चौँरी नेपालका अन्य भागमा र्पुयाउन सकिन्छ। अनि त्यहाँको चौँरीजन्य उत्पादन पनि नेपाली बजारमा ल्याउन सकिन्छ। ‘अरू विकासको के कुरा गर्नु, सरकारले हामीलाई पैदल हिँड्ने बाटो त दिन सकेको छैन’,पेम्बाले भने।































प्रतिक्रिया