रुकुम पश्चिम ।
सोती घटनाका अभियुक्तमाथि थुनछेक बहस शुरु भएको छ । पक्राउ परेका सबै अभियुक्तको बयान बिहीबार सकिएपछि आजदेखि रुकुम अदालतमा थुनछेक बहस शुरु भएको हो । सोमबार, मंगलबार, बुधबार र बिहीबार पक्राउ परेका सबै २९ जनाको बयान सकिएपछि आजदेखि थुनछेक बहस शुरु भएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए।
पहिलो दिन आज वादीका तर्फबाट पाँच सरकारी वकिलले बहस गरेका छन् । बाँकी बहस आइतबार हुने स्रेष्तेदार बोहराले बताए। उनका अनुसार आइतबार जाहेरीवालाका तर्फबाट बहसका लागि वकालतनामा पेश गरेका वकिलले बहस गर्नेछन् । वादी र जाहेरीवालाका तर्फका वकालतनामा पेश गरेका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलले बहस गर्ने उनको भनाइ छ । अहिलेसम्म वादी र जाहेरीवालाका तर्फबाट पाँच सरकारी वकिलसहित १६ र प्रतिवादीका तर्फबाट सात वकिलले बहसका लागि रुकुम अदालतमा वकालतनामा पेश गरेका छन् ।
थुनछेक बहस कुन दिन सकिन्छ भनेर अहिले नै भन्न सकिने अवस्था नहेको अदालतका स्रेष्तेदार बोहराले बताए। बहस सकिएपछि थुनछेक आदेश हुने अदालतले जनाएको छ । घटनाको अभियोग लागेका ३४ मध्ये दुई नाबालकसहित २९ जना पक्राउ परिसकेका छन् । पाँच जना अझै फरार छन् । दुई नाबालकलाई भने सोमबार नै मुद्दा पुर्पक्षका लागि बाल सुधारगृहमा पठाउन रुकुम अदालतले आदेश जारी गरेको थियो ।रासस































प्रतिक्रिया