काठमाडौं ।
नेपाल–भारत र भारत–चीनबीचमा तिव्र सीमा विवाद भइरहेकै समयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीका वीचमा आज भर्चुअल अन्तर्क्रिया हुने भएको छ ।
नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीको बीचमा हुन लागेको सो कार्यक्रमलाई अन्तराष्ट्रिय जगतले निकै उत्सकुताका साथ हेरिरहेका छन् ।
सत्तारुढ नेकपाभित्र पछिल्लो समयमा चिनियाँ प्रभाव बढेको खबर सार्वजनिक भइरहेको समयमा हुन लागेको सो कार्यक्रमलाई निकै महत्वका साथ हेरिएको छ । कोभिड–१९ का कारण प्रत्यक्ष रुपमा कार्यक्रम हुन नसकेपछि भर्चुअल गोष्ठी हुन लागेको हो । नेपाली समय अनुसार १२ बजेदेखि सो कार्यक्रम शुरु हुनेछ जसमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायतका १०० भन्दा बढी नेकपाका नेता तथा कार्यकर्ता सहभागी हुनेछन् । जसमा विशेषगरी चिनियाँ पक्षले पार्टी निर्माण, विचारको निर्माण, भ्रष्टाचार, सुशासन लगायतका अहिलेको क्षेत्रिय र अन्तर्राष्ट्रिय विषयहरुमा नेपाली पक्षलाई तालिम प्रदान गर्नेछ । पछिल्लो समयमा चीनले नेपालको आन्तरिक राजनीतिक मामिलामा निकै चासो व्यक्त गर्दै आएको छ ।
उसले विशेषगरी सत्तारुढ नेकपाभित्र विस्तारै पक्कड जमाउँदै गएको छ । विशेषरी केन्द्रदेखि गाउँसम्म नेकपामा नेताहरुले पछ्रिल्लो दुई वर्षमा निरन्तर चीनको भ्रमण गरिरहेको छन् । दुवै देशमा कम्युनिष्ट पार्टीको सरकार भएकाले काम गर्न सहज हुने चिनियाँ पक्षको बुझाई रहेको छ । केही हप्ता अगाडी सत्तारुढ नेकपाभित्र विवाद उत्पन्न हुँदा त्यसलाई मिलाउन नेपालका लागि चिनियाँ राजदूतले महत्वपूर्ण भूमिका खेलेका खबरहरु सार्वजनिक भएका थिए ।
गत वर्ष चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा दुई कम्युनिष्ट पार्टीको बीचमा भब्य कार्यक्रमको आयोजना भएको थियो । सो कार्यक्रममा चिनियाँ पक्षले नेपाली पक्षलाई सिको विचारधाराको बारेमा काठमाडौँमा प्रशिक्षण दिएको थियो । कुनै पनि देशको आन्तरिक मामिलाको विषयमा चुप रहने चीन पछिल्लो समयमा नेपालको राजनीतिमा प्रभाव जमाउन खोजिरहेको देखिन्छ । विशेषतः अहिलेको सत्तारुढ पार्टीलाई बलियो बनाउने र विभाजन हुन नदिने चिनियाँ रणनीति देखिन्छ ।
अहिलेको पार्टी नै सरकार रहिरहेमा आफ्नो सुरक्षा लगायतका अन्य चासोहरु पनि सम्बोधन हुने बुझाई चिनियाँ पक्षको रहेको छ । विशेषतः नेकपा एमाले र नेकपा माओवादीको बीचमा एकिकरण गराउन पनि चीनले महत्वपूर्ण भूमिका खेलेको थियो । देशभित्र पनि सत्तारुढ नेकपा कतै चिनियाँ विचारधाराबाट प्रभावित हुँदै गएको त होइन ? भन्ने आशंकाहरु पनि जन्मिएका छन् ।































प्रतिक्रिया