रुकुमपश्चिमको सोती गाउँमा अन्तरजातीय प्रेम र विवाहको निहुँमा मारिएका जाजरकोटका नवराज विकसहित छ जना युवाका आफन्तले काठमाडौँमा धन्यवाद र्याली निकालेका छन्। भृकुटीमण्डपबाट सुरु भएको र्याली शान्तिवाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो।
साढे तीन वर्षअघि भएको हत्याकाण्डमा जिल्ला अदालत रुकुम पश्चिमले २४ जनालाई जन्मकैद गरेको फैसलाले न्याय पाएको भन्दै पीडितका आफन्त मुद्धामा न्याय दिने न्यायालय, न्यायधीश, सरकार र घटनामा सद्भाव राख्ने सबैप्रति धन्यवाद ज्ञापन गर्न काठमाडौँ आएका हुन्।
धन्यवाद सभामा उपस्थित भएका मृतक नवराज विकका बुवा छोरा अझै आउँछ की भन्दै आशा गरेर बसिररहेको बताए। यस्तै सोही हत्याकाण्डमा ज्यान गुमाएका लोकेन्द्र सुनारकी आमा भन्छिन्,‘छोराको यादमा अझै बिहान-बेलुकी आँशु थामिँदैन।’ यसैगरी नवराज विकका वकिल दिनेश त्रिपाठी भन्छन्,‘इतिहासमा एउटै मुद्धामा २४ जनालाई जन्मकैद चानचुने कुरा होइन।’
विं.स.२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँकी मल्ल थरकी २१ वर्षीय युवतीलाई भेट्न पुगेका उनका प्रेमी नवराजसहितका साथीहरू स्थानीयको आक्रमणमा परेका थिए।
त्यसबेला नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा,लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो। उनीहरूको शव दुई सातासम्मको खोजीपछि भेरी नदी किनारबाट संकलन गरिएको थियो। घटनामा अरू १२ जना घाइते भएका थिए।































प्रतिक्रिया