विश्व दर्शन अभियान नेपालको आयोजनामा ‘प्रथम विश्व दर्शन योग प्रतियोगिता’ सम्पन्न भएको छ । प्रतियोगितामा राजधानीका विभिन्न १३ स्कूलका १५० भन्दा बढी विद्यार्थीहरू सहभागिता रहेको थियो ।
भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ्ग कलेजमा आयोजित प्रतियोगितामा करिब ८ हजार विद्यार्थीबाट छनोटमा परेका १५० भन्दा बढी विद्यार्थीबीच समूहअनुसार योगासन गराई प्रतिस्पर्धा गरिएको थियो । अभियानका अध्यक्ष नारायणप्रसाद भट्टराई ‘सोहम्’का अनुसार आगामी दिनमा योग र पूर्वीय दर्शनलाई शिक्षासँग जोड्दै भावी पुस्तालाई विद्यालय स्तरबाट हाम्रो दर्शन, सभ्यता, संस्कार तथा सन्तुलित भोगबारे ज्ञान प्रदान गरिने छ ।
‘सन्तुलित भोग नै योगको पूर्वाधार हो’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको उनले बताए । ‘नेपालमै पहिलोपटक विद्यालय स्तरमा यो योग प्रतियोगिता सञ्चालन गरेका छौं, आगामी दिनमा अझै बढीभन्दा बढी विद्यालयका विद्यार्थीहरूलाई सहभागिता गराई योग प्रतियोगितालाई निरन्तरता दिनेछौं’ उनले भने ।
विद्यालय स्तरबाटै योगलाई अनिवार्य सिकाइको विषय गराउन सके अझ राम्रो हुने संस्थाका सदस्य विनोद ढकालले बताए ।
उक्त प्रतियोगितामा कक्षा ४ सम्मका छात्राहरूको समूहबाट हाइली क्रियटीभ स्कूलकी निख्क्षिका पौडेल तथा छात्र समूहबाट श्रीयन्त्र स्कूलका रजत मगरले प्रथम स्थान हासिल गरेका थिए ।
यस्तै, कक्षा ५ र ६ का छात्रा समूहबाट अर्किड स्कूलकी प्रेमिका राई प्रथम, छात्र समूहबाट गोठाटार स्कूलका समीप राईले प्रथम भएका थिए ।
यसैगरी कक्षा ७ र ८ का छात्रा समूहबाट हाइली क्रियटीभ स्कूलकी जस्मीन कार्की प्रथम भएकी थिइन् भने छात्रतर्फ अर्किड स्कूलका शिशिर जिरेल प्रथम बनेका थिए । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागीहरूलाई ट्रफी, मेडल र प्रमाण पत्रका साथ नगद पुरस्कार र सान्त्वनालाई ट्रफी प्रदान गरिएको थियो ।
प्रतियोगितामा राजधानीका अर्किड स्कूल, अक्षरा स्कूल, अक्षरिका स्कूल, हाइली क्रियटीभ स्कूल, गोठाटार स्कूल, विद्या आर्जन स्कूल, प्रारम्भ एकेडेमी, किड्स लिबर्टी स्कूल, शिक्षालय नेपाल, श्रीयन्त्र स्कूल, द भेलोसिटी स्कूल, गोकर्णेश्वर नगरपालिका जोरपाटी नयाँबस्तीका टाइम लाइन स्कूल र विपुल शिक्षा निकेतन लगायतका १३ स्कूलका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगिताका प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौंका प्रमुख उपेन्द्र कार्कीले विद्यार्थीहरूलाई योग शिक्षातर्फ प्रेरित गर्ने उद्देश्यले गरिएको कार्यक्रमको प्रशंसा गर्दै आयोजक संस्था र विद्यालयहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।
त्रिभुवन विश्वविद्यालय योग विभागका अध्यापकद्वय डाटीपी धमला कृष्णशरण (नाथ योगमा नेपालका पहिलो विद्यावारिधि) र डा.आनन्द गैरेले निर्णायकको भूमिका निर्वाह गरेका थिए । विश्व दर्शन अभियान नेपाल यौगिक तथा आध्यात्मिक संस्था हो । जसले विगत १ दशकदेखि निरन्तर योग, अध्यात्म तथा पूर्वीय दर्शनसम्बन्धी विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।































प्रतिक्रिया