धुलिखेल नगरपालिकाद्वारा लकडाउन अवधिको कर छुट

धुलिखेल नगरपालिकाद्वारा लकडाउन अवधिको कर छुट

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।
धुलिखेल नगरपालिकाले आफ्नो क्षेत्रका व्यावसायीसँग लकडाउन अवधिको कर नलिने भएको छ । नगर कार्यपालिका बैठकले लकडाउन अवधिभरको नगरका सबैखाले व्यवसायीलाई कर छुट दिने निर्णय गरेको हो ।

पर्यटन, उद्योग तथा व्यापार व्यवसायीसँग लकडाउन अवधिभरको कर छुट गरिएको नगरप्रमुख अशोक ब्याञ्जूले बताए । उनले भने, “लकडाउनमा व्यवसाय ठप्प भएकाले व्यवसायीलाई केही राहत पुगोस् भन्ने उद्देश्यले यस अवधिको कर छुट दिने निर्णय गर्यौँ ।” उनका अनुसार लकडाउन अघिसम्मको कर असार मसान्तसम्म तिर्न व्यवसायीलाई आग्रह गरिएको छ । “लकडाउन अघिको कर असार मसान्तसम्ममा तिर्न आग्रह गरेका छौँ, यस करमा पनि जरिवानासमेत मिनाहा गर्ने निर्णय भएको छ”, ब्याञ्जूले भने ।

यसैबीच नगरले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक तथा ६० वर्ष माथिका सबै दलित परिवारका सदस्यको रु ५० हजारसम्मको एकवर्षे निर्जिवन ‘कोरोना बीमा’ गर्ने निर्णय गरेको छ । नगरभित्र करिब एक हजार ५०० वृद्धवृद्धा रहेको नगरले जनाएको छ । ब्याञ्जूले भने, “वृद्धवृद्धा र दलित समुदायका तोकिएको उमेर समूहका लागि निर्जिवन बीमाका लागि छुट्टै कोष बनाइनेछ ।”

नगरको उक्त निर्णयले ठूलो राहत मिलेको होटल व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घले गत जेठ दोस्रो साता कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा परेको असरबारे जानकारीसहित कर छुट लगायतको माग राख्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । “स्थानीय सरकारले लकडाउन अवधिको कर छुट गरेकामा खुशी छौँ, धुलिखेल नगरलाई विशेष धन्यवाद दिन चाहन्छौँ”, सङ्घका अध्यक्ष प्रेमकण्ठ माकजूले भने ।

लकडाउनका कारण धुलिखेलको पर्यटन व्यवसाय निकै धरासायी बन्दै गएकाले बैंक ऋणको भाका तथा ब्याज मिनाहा र विद्युत् महसुल छुटका लागि आग्रह गर्दै आएको माकजूले बताए। उनका अनुसार सङ्घले पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्रालय, अर्थ मन्त्रालय र उद्योग तथा वाणिज्य मन्त्रालयसमेतलाई राष्ट्र बैंकबाट सहुलियतमा ऋण उपलब्ध गराउन तथा लकडाउन अवधिको ब्याज मिनाहा, कर छुट लगायतको ज्ञापनपत्र बुझाइएको छ ।रासस

Skip This
Skip This
Logo