नेपाली काँग्रेसको मधेश प्रदेश सम्मेलन आज हुँदैछ।
प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक प्रदेशस्तरीय सम्मेलन हुन लागेको हो। प्रदेश राजधानी जनकपुरधाममा हुने सम्मेलनको उद्घाटन सभालाई सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ।
त्यस्तै, उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगनकुमार थापासहित शीर्ष नेताहरूले पनि सभालाई सम्बोधन गर्नेछन्।
सहमहामन्त्री महेन्द्र यादव र उमाकान्त चौधरी मधेशकै हुन्। त्यस्तै, पूर्वउपसभापति विमलेन्द्र निधिको गृहप्रदेश समेत हो। सम्मेलनमा पार्टीका प्रतिपक्षी नेता शेखर कोइराला भने सहभागी नहुने भएका छन्।
यसअघि लुम्बिनी र गण्डकी प्रदेशका सम्मेलनमा निरन्तर सहभागी कोइराला बिहीबार भने प्रदेश सम्मेलन छोडेर सुनसरीमा हुने कार्यक्रममा सहभागी हुन जाँदैछन्।
प्रदेश कार्यसमितिले कोइरालालाई विशेष अतिथिका रुपमा नबोलाएपछि उनी निकट नेताहरूले प्रदेश कार्यसमितिको बैठकमै नोट अफ डिसेण्ट लेखेका थिए। बिहीबार हुने मधेश सम्मेलनमा नेता कोइराला सहभागी नहुने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी गराएका छन्।
‘मिति ०८० पौष ५ गते बिहीबार काँग्रेस सुनसरीको बृहत् कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न नेता डा.शेखर कोइराला त्यसतर्फ जानुहुने जानकारी गराउँछु,’ थपलियाले सामाजिक सञ्जालमा लेखेका छन्।
मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले भने बिहीबारदेखि हुने प्रदेश सम्मेलनका लागि केन्द्रीय कार्यसमितिका सभापतिसहित पदाधिकारी र केन्द्रीय समितिका नेताहरूलाई निमन्त्रणा गरिएको बताए।
‘पार्टीको निर्वाचित केन्द्रीय कार्यसमिति छ। हामीले केन्द्रीय समितिका पदाधिकारीसहित अन्य केन्द्रीय सदस्यहरूलाई पनि निमन्त्रणा गरेका छौँ,’ उनले भने, ‘सभापतिजी, उपसभापतिजी र पदाधिकारीहरू आउनुहुन्छ, अरूको विषयमा थाहा भएन।’































प्रतिक्रिया