अर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले, आवश्यक विषयमा पार्टीमा आवाज नउठाउने तर अनावश्यक विषयमा समेत बाहिर बोलेर हिड्ने प्रवृत्ति पार्टीको मुख्य समस्या भएको तर्क गरेका छन् ।
शनिबार कांग्रेसको बागमती प्रदेश पहिलो सम्मेलनलाई सम्बोधन गर्दै प्रवक्ता महतले कांग्रेसको वडादेखि केन्द्रसम्म संस्थागत रुपमा छलफल, बहस गरी निष्कर्ष निकाल्ने र त्यसलाई एकरुपमा जनताको बीचमा लैजान आवश्यक भएको बताए । कांग्रेसीहरु बाहिर धेरै बोल्ने र पार्टीभित्र छलफल, बहस र कुरै नगर्ने प्रवृत्ति नै मुख्य समस्या भएको उनको तर्क छ ।
प्रवक्ता महतले भने, ‘आज हाम्रो पार्टीमा वडादेखि केन्द्रसम्म संस्थागत रुपमा छलफल गर्ने त्यही भित्र बहस गर्ने र निष्कर्ष निकाल्ने पद्धति स्थापित गर्न जरुरी छ । निष्कर्ष सहित जनताको बीचमा एक स्वरले आ –आफ्नो ठाउँबाट प्रस्तुत हुन जरुरी छ । कांग्रेसको समस्या अरु केही हुँदै होइन बाहीर धेरै कुरा गर्ने भित्र नगर्ने नै हाम्रो समस्या हो । हामी आन्तरिक निर्वाचनमा आम निर्वाचनमा भन्दा चर्को रुपमा सहभागी हुने तर, हामीले नीतिगत विषय आयोे गम्भीर छलफल गर्नुपर्यो भने त्यो मिटिङमै नआउने या मिटिङ नै नबोलाउने या मिटिङमै सहभागी नगराउने हाम्रो पार्टीको सबैभन्दा ठूलो समस्या यो हो ।’
उनले केन्द्र र अन्य तहको बीचमा विचारदेखि कामकारबाही सम्म देखिएको असामञ्जस्यता, पार्टीको नीति र विचारलाई गर्व गर्न सक्ने गरी हीनताबोध चिरेर एकसाथ सबै अगाडि बढ्नुपर्नेमा जोड दिए।
‘हाम्रो पार्टीको समस्या भनेकै हामी आफैंलाई हीनताबोध महशुस गरेर प्रस्तुत हुन्छौं । हाम्रै नेता ठिक छैनन्, फलानो ठिक भए, नीति नै ठिक भएन, काम कारबाही नै ठिक भएन सबैले सबैलाई भनिरहेका छौं ।’ उनले भने ‘कसले ठिक गर्दिने हो ? हामीले पहिलो कुरा पार्टी र पार्टीको नीतिमा गर्व गर्न थाल्नुपर्यो । जबसम्म गर्वका साथ जनताको बीचमा हामी प्रस्तुत हुँदैनौ कहाँ हाम्रो जनाधार वृद्धि हुन्छ ? हामी नै भित्र एउटा बहिर अर्को अलग अलग कुरा गर्न थाल्छौँ भने जनता दुबिधामा पर्छन् । कांग्रेस नै दुबिधामा छ भन्ने अवस्थामा हाम्रो पछि जनता किन लाग्छन् ? त्यसकारण यो मानसिकतामा हामीले आमूल परिवर्तन गर्नुपर्छ । हाम्रो आन्तरिक प्रतिस्पर्धालाई विपक्षी दलहरुको भन्दा पनि चर्को रुपमा लियौ यसलाई सुधार्नुपर्छ ।’































प्रतिक्रिया