एकैदिनका खबर एकैपटकः रवि लामिछानेमाथि खाेया प्रहार, उखु किसानले पाए अनुदान [भिडियाेसहित]

एकैदिनका खबर एकैपटकः रवि लामिछानेमाथि खाेया प्रहार, उखु किसानले पाए अनुदान [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरामा मकैको खोया प्रहार भएको छ। 

शनिबार अमरसिंहचौरस्थित खेल मैदानमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका सभापति लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन्। उनी बोल्दै गर्दा अगाडिबाट खोया प्रहार भएको हो। ती व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ। 

त्यसैबीच सम्बोधन गर्दै सभापति लामिछानेले भने, ‘जतिसुकै प्रहार भए पनि, जतिसुकै संयन्त्र भए पनि, जतिसुकै घेराबन्दी भए पनि टाउको निहुराएर मुख छोपेर कालो सिसाभित्र लुकेर हिँड्ने नेता होइन। अझ ठूलो छाती पारेर खुल्लमखुल्ला हिँड्ने चाहने नेता बन्न चाहन्छु।’

उखु कृषकलाई भूक्तानी

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु कृषकलाई अनुदानवापत रु ८० करोड रकम भूक्तानी गरेको छ। गत आर्थिक वर्ष २०७९-८० मा कृषकलाई भूक्तानी गर्नुपर्ने रु एक अर्ब ३२ करोडमध्ये चालु आवमा सो रकम भूक्तानी गरिएको हो। 

बाँकी रु ५२ करोड बक्यौता भूक्तानीका लागि मन्त्रिपरिषद्ले रकम थप उपलब्ध गराउन स्वीकृत प्रदान गरेकाले सम्बन्धित जिल्लामा निकासापश्चात् कृषकको उपलब्ध विवरणका आधारमा कृषकको खातामा रकम भुक्तानी हुने मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जानकारी दिए।

ऐतिहासिक काम भएकाे प्रचण्डको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो एक वर्षे कार्यकालमा अहिलेसम्म कसैले आँट गर्न नसकेको ऐतिहासिक काम भएको दाबी गरेका छन्।

जनतासँग माओवादी विशेष रुपान्तरण कार्यक्रम अन्तर्गत बुढानिलकण्ठमा आयोजित भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने ‘सुरूदेखिको प्रत्येक घटना हेर्नुभयो भने ऐतिहासिक काम भएका छन् जुन अहिलेसम्म विगतमा कसैले गर्न आँट गरेका थिएनन्।’

लुम्बिनी प्रदेशमा कृष्णा केसी नमुना मन्त्री बन्ने निश्चित

लुम्बिनी प्रदेशमा प्रमुख सत्ता साझेदार नेकपा माओवादी केन्द्रबाट ८ महिना पहिले मन्त्रीको सिफारिस भएकी बाँकेकी कृष्णा केसी नमुना मन्त्री बन्ने निश्चित भएको छ भने उनीसँगै मन्त्रीको लागि सिफारिस भएका रोल्पाका दिपेन्द्र पुन सिजल नेपाली काँग्रेस लुम्बिनीका प्रदेश सभापति अमरसिंह पुनको निरन्तर अडानका कारणले रोकिएका छन्।

प्रदेशलाई अधिकार नदिए हामी नै सिंहदरबार घेर्न जान्छौंः विश्वप्रकाश शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी संघीय सरकारले कानूनहरु निर्माण नगरे आफूहरु पनि सिंहदरबार घेर्न जाने बताएका छन्। 

नेपाली काँग्रेसको बागमती प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा उनले प्रदेशहरुले आफूहरुलाई अधिकार सम्पन्न बनाउने कानून माग्दा पनि प्रधानमन्त्रीले बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाएका छन्। 

कोरियन भाषा परीक्षाका लागि १ लाख ४३ हजार जना भन्दा बढिको आवेदन

रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत यसवर्ष कोरियन भाषा परीक्षाका लागि १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन्। उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका हुन्। पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिने समय दिइएको थियो। 

ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीले शुक्रबार राति १२ बजेसम्म उक्त सङ्ख्यामा अनलाइनमार्फत फाराम भरेको बताए। यो आवेदन संख्या हालसम्मकै उच्च हो। 

बैङ्कहरूको ब्याजदर निरन्तर घट्दै

बैङ्कहरूको ब्याजदर निरन्तर घट्दै गइरहेको छ। पछिल्लो समय बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै ब्याजदर थप घट्दै गएको हो। नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा नीतिगत दरहरू घटाएको छ।

यस्ता कारणले पनि बैङ्कहरू ब्याजदर घटाउँदै आएका छन्।बैङ्कहरूले निक्षेपको ब्याजदर पनि घटाउँदै आएका छन्, यसले उनीहरूको लागत पनि घटेको छ।

१६८ मुरी धान फलाएका बम्जन दम्पती ५० हजारबाट पुरस्कृत

एक सय ६८ मुरी धान फलाउने पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ लाक्सिबुङका एक दम्पती पुरस्कृत भएका छन्। 

५६ वर्षीय मकरबहादुर र उनकी श्रीमती ६० वर्षीया टीकामायाको मेहनतको प्रशंसा गर्दै फाल्गुनन्द गाउँपालिकाले ५० हजार रुपैयाँबाट पुरस्कृत गरेको हो। उनीहरुले पाँचवटा खेतमा तीन मुरी चार पाथी बीउ रोपेका थिए।   
  
दुर्लभ दुई गर्भाशय भएकी अमेरिकी महिलाले जन्माइन् जुम्ल्याहा छोरी

अमेरिकी शहर अलाबामाकी ३२ वर्षीया महिलाले दुई वटा पाठेघर लिएर जन्मेकी र दुवैमा गर्भवती भएकी केल्सी ह्याचर नामकी एक महिलाले छुट्टाछुट्टै दिनमा जुम्ल्याहा छोरीलाई जन्म दिएकी छन्।

उनले एउटा छोरीलाई साँझ  र अर्को छोरीलाई बिहान जन्म दिएकी हुन्। उनको गर्भाधानलाई लाखौँमा महिलामध्ये एक जनामा पाइने दुर्लभ घटना भनिएको छ।

वीरगञ्ज युनाइटेड नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा पुग्न असफल 

बुटबल लुम्बिनी एफसीसँग पराजित भएसँगै वीरगञ्ज युनाइटेड नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा पुग्न असफल भएको छ।

शनिबार भएको खेलमा बुटवलले वीरगञ्ज युनाइटेडलाई १-० गोलले स्तब्ध पारेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बुटवलका लागि इन्जुरी टाइममा चन्दन दासले निर्णायक गोल गरे।

Skip This
Skip This
Logo