नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनका कारण वर्तमान सत्ता सहकार्यमा कुनै असर नपर्ने विश्वास व्यक्त गरेका छन्।
बामपन्थी दलहरुले राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने सम्भावनाबारे चर्चा गर्दै नेपाली कांग्रेस प्रचार बिभाग प्रमुख विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भूमिकाप्रति आफ्नो पार्टीको विश्वास यथावत रहेको बताएका हुन् । ‘प्रचण्डजीले अविश्वसनिय कार्य गर्नुहोला भनेर नेपाली कांग्रेसले सोचेको पनि छैन’ भन्दै उनले भने,‘राष्ट्रिय सभा सदस्य निर्वाचनका बारेमा ठोस निर्णय हुनै बाँकी छ, समय अझै छ नी।’
नेपाली कांग्रेसको शीर्ष नेतृत्वमा वरियताक्रम सम्बन्धी ताजा विवादबारे पनि नेता विश्वकर्माले चर्चा गरेका छन् । उनको भनाई छ, पार्टीको महाधिवेशनमा प्रतिष्पर्धा गर्दा कोही दोस्रो स्थानमा आएको थियो भनेकै भरमा नेपाली कांग्रेसले वरिष्ठ नेताको हैसियत स्वीकार गर्ने गरेको छैन।
उनले विगतका महाधिवेशनहरुमा सभापति पदका निकटतम प्रतिष्पर्धीहरुलाई त्यस्तो स्थान संस्थागत रुपमा नदिईएको भन्दै तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालासँग प्रतिष्पर्धा गरेका चिरञ्जिवी वाग्ले र नरहरि आचार्य तथा वर्तमान सभापति शेरबहादुर देउवा नै पनि वरिष्ठताको दावी गर्दै अघि नसरेको उदाहरण दिए।
विश्वकर्माको व्यंग्यात्मक भनाई छ–‘कुनै नेतालाई आफू वरिष्ठ हुँ भनेर मनमा लाग्दैमा ऊ वरिष्ठ भै हाल्दैन, कसैलाई त्यस्तो लाग्न पनि सक्ला तर नेपाली कांग्रेसमा संस्थागत रुपमा वरिष्ठ नेताको वरियता नै छैन।’
प्रचार विभाग प्रमुख विश्वकर्माले संसदको प्रभावकारिताबारेमा पनि टिप्पणी गरेका छन्। उनले सभामुख देवराज घिमिरेको घुमाउरो शैलीमा आलोचना गर्दै संसदलाई प्रभावकारी बनाउन राजनीतिक दलहरुसँग समन्वय गर्नुपर्छ भन्ने कुरा अब त सभामुख पनि बुझ्दै गएका होलान् भने।
भिडियाे- https://fb.watch/p976L2MA6t/































प्रतिक्रिया