काठमाडौं । राष्ट्रिय जनता पार्टीका राष्ट्रिय सभा सांसद मिर्गेन्द्रकुमार सिंह यादवले बजेटको विरोधमा १० सेकेण्ड मौनधारण गरेका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुलाई पक्षपात गर्ने विनियोजन विधेयकमाथि छलफलमा भाग नलिने भन्दै सिंहले विरोध स्वरुप १० सेकेण्ड मौनधारण गरेका हुन् ।
सत्तापक्षका सांसदहरुले क, ख, ग र घ वर्गमा सांसदहरुलाई वर्गिकरण गरिएको बताएको र प्रतिपक्षका सांसदहरु वर्गिकरणमा पनि पर्न नसकेको भन्दै पक्षपात र भेदभावपूर्ण विनियोजन विधेयकको प्रतिकारात्मक विरोध स्वरुपमा १० सेकेण्ड मौनधारण गरेको उनको भनाइ छ । उनले भने–‘नेपाल सरकार सत्तापक्षको मात्रै होइन हामी प्रतिपक्षको पनि सरकार हो । तर वर्तमान सरकारको चरित्र र व्यवहार त्यो देखिएन । त्यति मात्रै होइन सम्पूर्ण सत्तापक्षको पनि सरकार भन्न पनि नमिल्ने छ । किन भने हिजो मात्रै सत्ता पक्षका सांसदहरुबाट मनको व्यथा पोखियो । सत्तापक्षका सांसदहरुलाई क, ख, ग र घ अर्थात फस्ट क्लास, सेकेण्ड क्लास, थर्ड क्लास र फोर्थ क्लास श्रेणीमा वर्गिकरण गरिएको थाहा पाए । हामी प्रतिपक्षलाई त श्रेणी विहिन वर्गमा नै राखिएको होला । त्यसैले सत्तापक्षका ग र घ श्रेणीमा परेका सांसदहरुको व्यथाप्रति सहानुभुति राख्दै यो सरकारबाट प्रस्तुत पक्षपात र भेदभावपूर्ण विनियोजन विधेयकको प्रतिकारात्मक विरोधस्वरुप १० सेकेण्ड मौनधारण गर्दै म यो विनियोजन विधेयकको छलफलमा भाग लिन्न ।’































प्रतिक्रिया