काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेट विनियोजन सन्तुलित नभएको बताएका छन् । राष्ट्रिय सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन् । देश निर्माणमा योगदान पु¥याउने नेताहरुलाई बजेटले अपमान गरेको उनको भनाइ छ ।
सांस्कृतिक रुपान्तरणको कुनै पनि कार्यक्रम बजेटमा नआएको र देशको परिवर्तनका लागि लडेका नेताहरुको स्मृतिमा सञ्चालन गरेका कार्यक्रमलाई बजेट नदिएर नेताहरुको अपमान भएको उनले बताए । सांस्कृतिकतर्फ मन्दिरको संरक्षण गर्ने बाहेक अरु कुनै पनि कार्यक्रम बजेटमा समेट्न नसकिएको उनको आरोप छ । उनले विद्यालय निर्माणमा बजेट नछुट्याइएको तर मन्दिर बनाउन बजेट आएको बताए । अहिलेको आवस्यकता मन्दिर निर्माण भन्दा विद्यालयका भवन निर्माणलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने तर सरकारले त्यसतर्फ ध्यान नदिएकाे उनले बताए । उनले भने–‘राज्यले विद्यालय बनाउनका निम्ति बजेट छुट्याएको छैन् । मैले देखिन विद्यायल भवन निर्माणका निम्ति यति बजेट, स्थानीय तहमा पठाइएको छ भनेर कहिँ उल्लेख गरिएको छैन् । भनिएको छ स्थानीय तहमा हामीले प्राविधिक शिक्षा दिनेछौँ । नीति कार्यक्रममा आएको छ बजेटमा आएको छ । तर स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्नका निम्ति बजेट छुट्याइएको छैन् । तर २ सय ३ मन्दिर बनाउन, मर्मत सम्भार गर्नका लागि बजेट छुट्याइएको छ । आजको आवस्यकता के हो ? मेरो विचारमा आजको आवस्यकता मन्दिर भन्दा पहिले विद्यालय हो ।’
एक प्रदेश एक पर्यटकीय गन्तव्य बनाउँछौं भनेर नीति तथा कार्यक्रम आएको तर बजेटमा कुनै पनि प्रदेशमा पर्यटकीय गन्तव्य तोकेर बजेट नछुट्याइएको उनको आरोप छ । उनले कतिपय ठाउँमा यसअघि गरिएका कार्यक्रममा बजेट रोकिएको बताए । शहिद गंगालाल र नेपाली कम्युनिष्ट आन्दोलनका पुष्पलालको जन्मस्थल रामेछापको भगेरिमा बनाउन लागेको स्मृतिपार्क र विपी कोइरालाको पुख्र्यौली थलो सिन्धुलीको दुम्जामा पनि स्मृतिपार्क बनाउन भनेर सुरु गरिएको तर ति दुबै योजनामा यसपटक बजेट नछुट्याइएको उनले बताए । नेताहरुको विचारले मुलुकमा परिवर्तन आएको तर तिनै नेताको स्मृतिमा गरिएका कार्यक्रमलाई रोकेर अपमान गरिएको सांसद भुसालको आरोप छ । उनले बजेटको सुरुमा नेताहरुको सम्मान गर्छु भनिए पनि पछि तिनै नेताहरुको सम्मानमा सञ्चालन गरिएको कार्यक्रमहरु रोकेर अपमान गरिएको बताए ।





























प्रतिक्रिया