जापानमा सोमबार गएको भूकम्पका कारण ८ जनाको मृत्यु भएको छ। अहिले उद्धारकार्य जारी रहेकाले संख्या बढ्न सक्ने अनुमान गरिएको छ। २४ घण्टाको अवधिमा एक सय ५५ पटक भूकम्पको धक्का महसुस गरिएको थियो।
जापान सरकारले उद्धार राहतलाई तिव्रता दिएको छ। भग्नावशेषमा दबिएका व्यक्तिको खोजी जनाइएको छ। प्रहरी र स्थानीय अधिकारीहरूले मंगलबार बिहानै भत्किएका भवनको भग्नावशेषबाट शव निकालिएको जानकारी दिएका छन्। सोमबार दिउँसो जापानमा ७.६ म्याग्निच्युडको प्रारम्भिक भूकम्पले धेरै भवनहरू ध्वस्त पारेको छ भने हजारौं घरहरूमा बिजुली अवरुद्ध भएको छ।
केही तटीय क्षेत्रका बासिन्दाहरूलाई सुनामीको चेतावनी पनि जारी गरिएको छ। भूकम्पले जापानको लामो पश्चिमी तटवर्ती क्षेत्र र छिमेकी दक्षिण कोरियामा करिब १ मिटर अग्लो छालहरू उठाएको थियो।
यसैगरी, भूकम्पका कारण धावनमार्ग चिरा परेपछि सबैभन्दा बढी प्रभावित इशिकावा प्रान्तको एउटा स्थानीय विमानस्थल बन्द गरिएको छ। सबैभन्दा बढी प्रभावित क्षेत्रका मुख्य सडकहरू नराम्ररी क्षतिग्रस्त भएकाले उद्धार कार्यमा बाधा पुगेको बताइएको छ।
जापानको मौसम विज्ञान एजेन्सीले सोमबार सुदूर नोटो प्रायद्वीपमा भूकम्प गएपछि लगातार परकम्पहरू गएकालले आगामी दिनमा अझैं शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएको छ।
यस्तै, सरकारले सोमबार रातिसम्म मुख्य टापु होन्सुको पश्चिमी तटमा रहेका नौ प्रान्तका ९७ हजारभन्दा बढी मानिसहरूलाई घर छाड्न आदेश दिएको थियो।उनीहरूले खेलकुद हल र विद्यालय व्यायामशालाहरूमा रात बिताएका छन्।





























प्रतिक्रिया