लकडाउनपछि सुनचाँदीको कारोबार सुरु, सुन बेचेर नुन किन्दै उपभोक्ता

लकडाउनपछि सुनचाँदीको कारोबार सुरु, सुन बेचेर नुन किन्दै उपभोक्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि विश्व नै तीन महिनादेखि लकडाउनमा छ । लकडाउनले गर्दा विश्व अर्थतन्त्र नै तहसनहस भएको छ । यसको प्रभावबाट नेपाल पनि अछुतो छैन ।

तीन महिनासम्म लकडाउनमा रहेपछि खुलेको सुनचाँदी व्यवसायमा व्यवसायीहरुले दैनिक कारोबार १० प्रतिशत पनि नभएको गुनासो गर्न थालेका छन् भने सुनचाँदी पसल खुल्दा सुन किन्न आउने भन्दा पनि बेच्न आउने ग्राहकको भिड लागेमा नियन्त्रण गर्न नसक्ने बताउदै आएका छन् ।

कोरोनाले विश्वलाई त्रसित बनाई रहेता पनि विश्व बजारमा नै सुनको मूल्यबृद्धि भइरहेको छ । यसको असर नेपाली बजारमा पनि परेको छ । सुनको मूल्य पछिल्लो समय लगातार रुपमा बढ्दै गएको छ । लकडाउन पछि सुनको मूल्य बढेर अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ । आइतबार सुन प्रतितोला ८९ हजार ६ सय रुपैंयाँमा कारोबार भएको थियो । आज प्रतितोला १०० रुपैयाँ बढ्दै सुन ८९ हजार ७०० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

लकडाउनले गर्दा सुनचाँदी व्यवसायमा करिव २२ अर्ब बराबर घाटा भएको छ । लकडाउनले व्यापार व्यवसाय बन्द हुँदा व्यवसायीहरु सटर भाडा र कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेका छन् । तर, व्यवसाय सञ्चालनमा आएसँगै सुनचाँदी पसलमा किन्ने भन्दा पनि बेच्नको लागि आउनेहरुका लागि थप पैसाको व्यवस्था गर्नु परेको व्यवसायीहरुले बताएका छन् ।

नेपाली बजारमा व्यवसायीहरुले उपभोक्तालाई सुन बिक्री गरेको र उपभोक्ताले किनेको बिलका आधारमा केही जर्ती कटाएर किन्ने गरेका हुन्छन । तर कोरोना भाइरसको प्रभावसँगै लकडाउनपछि व्यवसायीहरु देखि सामान्य मानिसहरु समेत आर्थिक रूपमा कमजोर भएका छन् । यसले गर्दा सर्वसाधारणलाई आर्थिक संकट परेकाले आफूसँग भएको सुनका गरगहना बिक्री गरेर पैसाको जोहो गरी बिहान बेलुकाको दुई छाक टार्नको लागि नुन किन्ने पहिलो विकल्पका रुपमा लिन सक्ने पाइएको छ ।

कोरोनाका कारणले सुन व्यवसायी मात्रै नभएर यतिबेला सबै क्षेत्रका मानिसहरु समस्यामा परेकाले विहान बेलुका खानको लागि वा भएको केहि ऋण तिर्नको लागि भए पनि गरगहना बिक्री गरेर संकट टार्न सक्ने सम्भावना बढी रहेको नेपाल सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए ।

उनका अनुसार लकडाउनपछि व्यवसाय सञ्चालनमा आए पनि यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयले चिन्ता पैदा गरेको छ । अब व्यवसाय सञ्चालन गर्दा अनिवार्य ग्राहक र व्यापारी दुबैले मास्क लगाउनु पर्ने हुन्छ , उनले भने, एक जनाले एक तोलाको औंठी मास्कमा लुकाएमा व्यापारीलाई घाटा लाग्ने अवस्था आउने सम्भावनालाई पनि मध्यनजर गर्दै व्यवसाय सञ्चालन गर्ने तयारीमा रहेका छौं ।’

त्यस्तै, अर्का सुन व्यवसायी तथा नेपाल सुनचाँदी व्यवसायी संघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले पनि लकडाउन पछिको यो स्थितिले मानिसहरुसँग रहेको सुन बेच्ने बढ्ने सम्भावना रहेकाले यसको दबाब आफूलाई पर्ने चिन्ता थपिएको बताए । उनका अनुसार यो बेलामा किन्ने भन्दा पनि बेच्ने बढी हुने अवस्थालाई देखेर महासंघले आइतबार नै विज्ञप्ति जारी गर्दै सबै व्यवसायीलाई पैसाको जोहो गर्न र एकैपटक सुन बिक्रीका लागि नआउनसमेत अपिल गरेको छ । उनले भने, ‘सुनको मूल्य आकाशिएर ९० हजार पुगेकाले सुन किन्न आउने सम्भावना कम रहन्छ, बरु यो बेला बेच्नेको भीड लाग्न सक्छ ।’

कोरोना भाइरसको प्रभाव हुनु भन्दा पहिला व्यवसायीहरुले नेपाली प्रचलन अनुसार बैशाखको विवाहको लागि ६० अर्ब भन्दा बढी लगानी लगाएर सुन खरिद गरे पनि व्यवसाय ठप्प हुँदा यतिबेला व्यवसाय नै संकटमा परेको तर सरकारले निती तथा कार्यक्रम तथा बजेटमा समेत सुन व्यवसायीको लागि कुनै राहतको प्याकेज नल्याएको तर उल्टो सुन आयातमा कर बढाएको छ । तर, सरकारलाई यो व्यवसायबाट करिव ११ अर्ब रुपैंयाँ राजश्व बुझाउने गरेको शाक्यको भनाइ रहेको छ ।

२ लाख कालिगढ र २२ हजार व्यवसायी संकटमा

कोरोना भाइरसको गहिरो प्रभाव तथा आगामी वर्ष आर्थिकको बजेट मार्फत सुन आयातमा कर बृद्धी तथा अन्तर्राष्ट्रिय बजार मूल्यको प्रभावले नेपाली बजारमा सुनको मूल्य आकाशिएको छ । सुनको मूल्य यसरी नेपाली बजारमा उच्चबिन्दुमा पुगेर नेपालीको पहुँच भन्दा माथि पुगेकाले अब कारोबारमा कमि आउने भएकाले देशभरका २२ हजार भन्दा बढी सुनचाँदी व्यवसायी संकटमा परेका छन् । अब कोरोनाको प्रभावले सुनचाँदी व्यवसायलाई तत्काल माथि नउठ्ने गरी थला परेको छ ।

यो व्यवसायमा देशभरमा करिव २२ हजार भन्दा बढी व्यवसायीहरु संकलन रहेका छन् भने यसमा काम गर्ने नेपाली तथा भारतीय कालिगढ गरी करिव २ लाख रहेका छन् । अहिले तत्काल व्यवसाय सञ्चालनमा आए पनि कालिगढहरु काममा फर्काउने स्थिति नरहेकाले उनीहरुको रोजगारीमा पनि सङकटमा परेको छ ।

पछिल्लो समय बढ्दो शहरीकरण र मानिसहरुको सुनचाँदी प्रतिको मोह बढ्दै गएकाले नेपाली बजारमा पनि सुनचाँदीको कारोबार फस्टाउदै गएको तर करिव एक वर्षदेखि सुनको मूल्य निरन्तर रुपमा बृद्धी हुदै जाँदा कारोबार घट्दै गएको छ । पहिले दैनिक ५० देखि ६० किलो सुनको कारोबार भएकोमा अहिले घटेर दैनिक १० किलो पनि कारोबार हुन छोडेको छ ।

यसरी व्यवसायीहरु सङकटमा परेकाले सुनचाँदी व्यवसायलाई यो संकटबाट बचाउन सरकारले सहुलियतपूर्ण ऋण, ब्याज र दस्तुर मिनाहा लगायतको आर्थिक प्याकेज ल्याउनु पर्ने महासंघको भनाइ रहेको छ । व्यवसायीले घर बहाल तिर्न, कर्मचारीलाई तलब दिन बैंकको किस्ता र ब्याज बुझाउन ठूलो कठिनायी उत्पन्न भएको बताएका छन् ।

Skip This
Skip This
Logo