राष्ट्रिय सभा निर्वाचन: आज अन्तिम मतदाता नामावली प्रकाशन गरिने

राष्ट्रिय सभा निर्वाचन: आज अन्तिम मतदाता नामावली प्रकाशन गरिने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्य निर्वाचनका आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिने भएको छ। निर्वाचन अधिकृतको कार्यालयमा मतदाताको अन्तिम  नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ।

पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधको समय सकिएको छ।  पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय छ। राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख-उप्रमुख मतदाता हुन्छन्।

प्रदेश सभाका सदस्य र पालिकाका प्रमुख-उपप्रमुखको मतभार अलग-अलग हुन्छ। राष्ट्रिय सभा निर्वाचनको मतभार जनसङ्ख्याका आधारमा निकालिन्छ। निर्वाचन आयोगले २०७८ को जनगणनाको प्रतिवेदनअनुसार प्रदेश सभाको सांसदको मतभार ५३ र पालिकाका प्रमुख–उपप्रमुखहरूको मतभार १९ तोकेको छ।

आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङको १ नम्बर प्रदेशसभा पद रिक्त छ। निर्वाचन आयोगले रिक्त र निलम्बनबाहेक राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सदस्य ५४९ र पालिकाका प्रमुख–उपप्रमुख १४ सय ९८ कायम गरेको छ।

निर्वाचन कार्यतालिका अनुसार पुस २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ भने पुस २८ मा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय  छ।

फागुन २० मा राष्ट्रिय सभामा एमालेका ९ (एक मनोनीत सहित), काँग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदैछ।  

२०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो। गोलाप्रथामा ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो। राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ।

Skip This
Skip This
Logo