ताप्लेजुङस्थित प्रसिद्ध तिर्थस्थल पाथीभरामा सञ्चारलाई थप व्यवस्थित गर्न सञ्चार सेट वाकिटकी प्रयोग गर्न थालिएको छ । मन्दिरसहित केहि ठाउँमा पूर्णरुपमा मोवाईल नेटवर्क कभरेज नहुँदा सञ्चारमा समस्या आएको भन्दै पाथीभरा क्षेत्र विकास समितिले उक्त सञ्चार सेटको प्रयोग गरेको हो ।
पाथीभरा क्षेत्रमा कार्यरत कर्मचारीबीचमा सहज सञ्चार मार्फत समन्वय बढाउने साथै संगठित कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने उद्धेश्यले उक्त वाकिटकी सञ्चार सेट सञ्चालन गरीएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिए । वाटिटकि सञ्चारले आपतकालिन वा अत्यावश्यक अवस्थामा सहयोग पुग्ने क्षेत्र विकास समितिको दाबी छ ।
पाथीभरा मन्दिर सहित पदमार्गका कतिपय स्थानमा मोवाईल फोनको नेटवर्क नआउने लगायतका समस्या छन् । पाथीभरा क्षेत्रमा भक्तजनको गणना गर्ने, स्वास्थ्यकर्मी, सरसफाई गर्ने, पुजाआजा व्यवस्थापन गर्ने, भेटीघाटी व्यवस्थापन गर्ने लगायतका कर्मचारी खटिएका छन् ।
उक्त सञ्चार सेटहरु ती मध्येका केहि कर्मचारीले प्रयोग गर्ने छन् भने पाथीभरा क्षेत्र विकास समितिको कार्यालयमा रहेका कर्मचारी र पाथीभरा क्षेत्र विकास समितिका पदाधीकारीले समेत प्रयोग गर्ने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए । उनका अनुसार उक्त वाकिटकि सहित बेस स्टेशनका लागि लाइसेन्स लिने लगायतका सबै कानूनी प्रकृया पूरागरी टावर जडान गरेर प्रयोगमा आएको हो ।
अब भने पाथीभरा मन्दिर सहित आवश्यक ठाउँबाट पाथीभराको हरेक गतिविधिबारे सहज रुपमा सूचना आदान प्रदान हुने क्षेत्र विकास समितिले जनाएको छ ।































प्रतिक्रिया