आकाशे पुलमा ब्यानर झुन्डाएर विज्ञापन गर्ने एक कम्पनीलाई महानगरले तिरायाे जरिवाना
काठमाडौं महानगरपालिकाले आकाशे पुलमा ब्यानर झुन्डाएर विज्ञापन गर्ने एक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।महानगरका अनुसार ब्यानर राखेर पुरानो हुँदासम्म नहटाएको पाइएपछि विज्ञापन गर्ने कम्पनीलाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ।नगर प्रहरीका स्टोर इन्चार्ज राजन कार्कीका अनुसार ब्यानर राख्ने इनोभेटिव कन्सेप्ट प्रालिलाई सो रकम बराबर जरिबाना गरिएको हो।
टेरामक्स प्रविधिको आवश्यकता र औचित्यका बारेमा एक साताभित्र स्पष्ट दृष्टिकोण पेश गर्न सञ्चार मन्त्रालयलाई निर्देशन
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले टेरामक्स प्रविधिको आवश्यकता र औचित्यका बारेमा एक साताभित्र स्पष्ट दृष्टिकोण पेश गर्न सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ।
बिहीबार भएको छलफलपछि समितिले छ वर्षअघि टेरामक्स प्रविधि खरिद गर्ने निर्णय गर्दाको अवस्था र अहिलेको परिस्थितिबारे स्पष्ट दृष्टिकोण पेश गर्न निर्देशन दिएको हो।
बैठकमा मन्त्रालयका प्रतिनिधिहरुले त्यतिबेला ठूलो मात्रामा कल बाइपासबाट राजस्व चुहावट हुने भएकाले अनुगमनका लागि टेरामक्स प्रविधि आवश्यक परेको देखिए पनि अहिले भने इन्टरनेट र त्यसमा आधारित भएर हुने अडियो तथा भिडियो कलका कारण कल बाइपास घटेकाले टेरामक्स प्रविधि स्थापना जरुरी नभएको प्रतिक्रिया दिएका थिए।
बाग्लुङमा दुर्गा प्रसाईंमाथि कुटपिटको प्रयास
बाग्लुङमा कार्यक्रम गर्न जाँदा दुर्गा प्रसाईंमाथि कुटपिटको प्रयास भएको छ ।कुटपिट गर्न लागेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका डीएसपी मदन केसीले बताए।
‘हातपात गर्न खोज्ने बाग्लुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमलाई पक्राउ प्रहरीले बताएको छ । उनीबाग्लुङमा जुत्ता पसल चलाउँदै आएका थिए। कुटपिट गर्नुको कारण खुलेको छैन।
मिसन ८४ पर्खिन नसक्ने अवस्था आयाेः केपी शर्मा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ को पर्खिन नसक्ने अवस्था आउने बताएका छन् ।
बिहीबार पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा उनले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउनेसम्म पहल गर्नुपर्ने बताएका हुन्।
एमाले अध्यक्ष ओलीले अहिलेको गठबन्धन लोभीपापीहरुको मिलेमतो भएकाले यसलाई भत्काउन गाह्रो हुने भन्दै आन्दोलनबाट सरकार हटाउन प्रयास गर्ने आशय व्यक्त गरे ।
जिल्ला प्रहरी कार्यालय खोटाङले छ महिनासम्म बिदा नलिएको भन्दै पाँच जना प्रहरीसँग साेध्याे स्पष्टीकरण
जिल्ला प्रहरी कार्यालय खोटाङले छ महिनासम्म बिदा नलिएको भन्दै पाँच जना प्रहरीसँग स्पष्टीकरण सोधेको छ।
कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले प्रहरी सहायक हवल्दार सबिन थुक्लुङ लिम्बु, प्रहरी जवानहरू सागर राई, द्वारिका राई, रूपेश तामाङ र अनिल परियारलाई बिदा नलिनुको कारणबारे परिवारमा केही समस्या पो भएर हो कि भनेर स्पष्टीकरण सोधेका हुन्। तर, उनीहरुलाई कारबाहीका लागि स्पष्टीकरण नसोधिएको भने होइन।
कैलालीको प्रशासनिक भवन दोस्रो पटक उद्घाटन
कैलालीको गोदावरी नगरपालिका, कैलालीको प्रशासनिक भवन दोस्रो पटक उद्घाटन गरिएको छ। मेयर वीरेन्द्र भट्टले बिहीबार भवनको उद्घाटन गरेका हुन्। यही भवनको नेकपा एमालेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउँदले २०७८ सालमा उद्घाटन गरेको थिए।
त्यसबेला भित्तामा राखिएको शिलालेख फुटाइएको छ र प्राङ्गणमा नयाँ मेयरको नामसहित शिलालेख राखिएको छ ।पुरानो शिलालेख हटाइएको ठाउँमा अहिले निर्वाचित जनप्रतिनिधिहरुको नामावली राखिएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार काकीले गरे सम्पत्ति विवरण सार्वजनिक
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। दुई वर्षको अन्तरमा कार्कीले आफ्नो सम्पति घटेको विवरण सार्वजनिक गरेका हुन्।
मोरङको बुढीगंगा गाउँपालिका–२ स्थायी ठेगाना भएका कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा विराटनगरको मुख्य बजारमा सात ठाउँमा जग्गा रहेको विवरण पेश गरेका थिए । मुख्यमन्त्री भएपछि भने विराटनगरको तीन स्थानमा मात्रै जग्गा भएको विवरण पेश गरेका छन्।
बिहीबार सेयर बजारको परिसूचक नेप्से ७ अंकले घट्याे
साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७ अंकले घटेको छ । यस दिन बजारमा उच्च उतारचढाव देखियो। बिहान ११ः १४ बजे बजारको परिसूचक नेप्से २१ सय३३ विन्दुसम्म झरेको थियो।
उतारचढावका बीच दिउँसो २ बजेरः ३४ मिनेटमा २१ सय ६७ विन्दुसम्म पुगेको बजार अन्ततः बन्द हुँदा २१ सय ५५ विन्दुमा कायम भयो, जुन अघिल्लो दिनको तुलनामा ७.२४ अंक कमी हो। परिसूचक नेप्से घट्दा कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ९ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ८ अर्ब १७ करोडमा खुम्चियो।
काठमाडौँको फोहोर व्यवस्थापनबारे अध्ययन गर्दै भारतीयसहितको विज्ञ समूह
काठमाडौँ महानगरपालिकाले घरेलु फोहोरको दिगो समाधानका लागि विज्ञ समूहबाट त्यसको सामाजिक,आर्थिक तथा प्राविधिक अध्ययन गर्ने भएको छ। अध्ययनका लागि महानगरपालिकाले भारतीय विज्ञसहितको समूह तयार गरेको छ।
महानगरपालिकाले भारतको इन्दोर सहरको फोहोर व्यवस्थापनमा खटिएका विज्ञसहितको टोलीलाई काठमाडौँको फोहोर व्यवस्थापनका लागि त्यसको सामाजिक, आर्थिक तथा प्राविधिक पक्षको अध्ययन गर्ने जिम्मेवारी दिएको हो।
गौरस्थित प्रादेशिक अस्पतालमा दुई डाक्टरबीचको तँछाडमछाडले अन्य डाक्टर र कर्मचारी तलबभत्ताबाट वञ्चित
रौतहटको गौरस्थित प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) बन्न दुई डाक्टरबीचको तँछाडमछाडले अन्य डाक्टर र कर्मचारी तलबभत्ताबाट वञ्चित भएका छन्।अस्पतालका मेसु डा. मुरारी ठाकुर गत साउन २ मा सरुवा भएर जलेश्वर प्रादेशिक अस्पताल पुगेका छन्। उनको सरुवापछि मेसु बन्न डा. कृष्णा साह र डा. सञ्जिवकुमार सिंहबीच होडवाजी छ। असोज ३० मा साहलाई मन्त्रालयले मेसुको जिम्मेवारी दियो। र डा. सिंहलाई मन्त्रालय तान्यो। उनले मेसुको मागसहित अदालतमा मुद्दासमेत हालेका छन्।
बक्सिङ खेलाडी घरमा मृत फेला
भक्तपुरमा एक महिला बक्सिङ खेलाडी घरमा मृत भेटिएकी छिन्। मंगलबार साँझ ८ बजे आफ्नै तीन तले घरको छतमा रहेको जस्ताको डन्डीमा पासो लागेको अवस्थामा नीता गोसाई मृत भेटिएकी हुन्।
परिवारका सदस्यले झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। २७वर्षीया गोसाई सशस्त्र प्रहरी बल(एपीएफ) क्लबबाट घरेलु प्रतियोगिताहरु खेल्दै आएकी थिइन्। स्रोतका अनुसार गोसाईको आगामी फागुन २ गते विवाह हुँदै थियो। भक्तपुर प्रहरीले प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिएको जनाएको छ।
पाकिस्तानी क्षेत्रबाट बिहीबार भएको आक्रमणमा कम्तीमा सात जना इरानी सर्वसाधारणको मृत्यु
पाकिस्तान र इरानको सीमा क्षेत्रमा आतङ्कवादी लडाकुलाई लक्षित गरी हालै भएका आक्रमणपछि बिहीबार पाकिस्तान र इरानबिच मध्यस्थता गर्न इच्छुक रहेको बेइजिङले बताएको छ।
पाकिस्तानी क्षेत्रबाट बिहीबार भएको आक्रमणमा कम्तीमा सात जना इरानी सर्वसाधारणको मृत्यु भएको तेहरानले बताएको छ ।आणविक शक्ति सम्पन्न पाकिस्तान र छिमेकी इरान दुवैले आफ्नो कम जनसङ्ख्या भएको सीमा क्षेत्रमा अतिवादसँग जुधिरहेका छन् ।बिहीबार पाकिस्तानले इरानमा रहेका लडाकूसमूहमाथि आक्रमण गरेको बताएको थियो
बिहीबार भएको प्रधानमन्त्री कपमा मधेस प्रदेशले एपीएफ क्लबलाई हरायाे
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबार भएको खेलमा मधेस प्रदेशले बलियो प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपीएफ क्लबमाथि पाँच विकेटको रोमाञ्चक जित हासिल गरेको छ।
जारी प्रतियोगितामा चौथो खेल खेलेको मधेस प्रदेशको यो दोस्रो जित हो। यसअघि दुई खेलमा मधेस प्रदेश पराजित भएको थियो । हालसम्म तीन खेल खेलेको एपीएफ क्लबको भने यो पहिलो हार हो। साथै आजै भएको खेलमा सुदुरपश्चिम प्रदेश र आर्मी ब्लब विजयी भएको छ।





























प्रतिक्रिया