काठमाडौं ।
माइतीघरमा संविधान संशोधनको पक्ष र सरकारले कोरोना रोकथामको लागि गरिएको भनिएको १० अर्ब खर्चको चित्त बुझ्दो जवाफ माग गर्दै युवाहरुले आज पनि माइतीघरमा प्रर्दशन गरेका छन् ।
शान्तिपूर्णरुपमा निस्किएको प्रर्दशनमा उनीहरुले कोरोनाको परीक्षणका लागि सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै यस तर्फ ध्यान दिन अनुरोध गरेका थिए ।

यस अघि विगत एक हप्ता देखि राजधानी र देशका अन्य जिल्लाहरुमा पनि युवाहरुले प्रर्दशन गर्दै आएका छन् । आजको प्रर्दशनमा कोरोना संक्रमणको जोखिमका बीचमा पनि युवाहरुले हात हातमा स्यानिटाइजर लिएर सामाजिक दुरी कायम गर्दै प्रर्दशन गर्न सहभागीहरुलाई अनुरोध गरेका थिए ।
प्रर्दशनमा सुरक्षाकर्मीहरुको पनि बाक्लो उपस्थिती रहेको थियो । हिजो अस्तीका प्रर्दशनहरुमा लाठी र पानीका फोहोरा हान्दै प्रर्दशनकारीलाई तितर बितर बनाएका सुरक्षाकर्मीहरुले पनि आजको प्रर्दशनमा संयमता अपनाएको देखिन्थ्यो । उनीहरुले कुनै बल प्रयोग गरेका थिएनन् भने प्रर्दशनकारीहरुले पनि फूल दिएर सुरक्षाकर्मीलाई स्वागत गरेका दृष्यहरु रमाइलो देखिन्थ्यो ।

सरकारले जारी गरेको नयाँ नक्सा कायम गर्नका लागि आज नेपालको संविधानको दोस्रो संशोधन हुँदैछ । सहभागीहरुले यसको सर्मथन पनि गरेका थिए ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले १० अर्ब खर्च गरेको भने पनि त्यसको विवरण पारदर्शी नभएको भन्दै प्रदर्शन गरिएको हो । नेपालको अद्यावधिक नक्सा सहित प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए । सरकारले खर्च गरेको १० अर्बको हिसाव सार्वजनिक गर्नुपर्ने, शतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, क्वारेन्टाइनहरुको व्यवस्थापन विश्व संगठनको मापदण्ड अनुसार हुनुपर्ने माग राख्दै प्रदर्शन गरिएको हो ।


प्रदर्शन स्थल ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो । प्रहरीले भद्रकाली, थापाथली र बबरमहल क्षेत्रबाट माइतीघर प्रवेश गर्न कडाई गरेको थियो । शनिबारको प्रदर्शन शान्तिपूर्ण थियो । विहान १० बजेटबाट १२ बजेसम्म प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम भएपनि प्रहरीको आग्रहमा आधाघण्टा अगाडी नै प्रदर्शन सकिएको थियो । प्रदर्शनकारीहरुले प्रहरीलाई फूल समेत दिएका थिए । यसअघिका प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्ने गरेको भएपनि शनिबारको प्रदर्शन शान्तिपूर्ण रह्यो । प्रदर्शनकारीहरुले समेत प्रहरीको आग्रह अनुसार आधा घण्टा अगाडी नै पूर्वनिर्धारित कार्यक्रम सम्पन्न गरेका थिए ।





तस्वीरहरु : ज्ञानमणि नेपाल कालोटोपी / केन्द्रबिन्दु































प्रतिक्रिया