काठमाडौं ।
अमेरिकाले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपाललाई थप सहयोग गरेको छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसइआईडी) मार्फत नेपाललाई कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि थप ५५ लाख अमेरिकी डलर (करिब ६३ करोड रुपैयाँ) सहयोग गरेको हो। यसअघि अमेरिकाले १८ लाख डलर सहयोग गरेको थियो ।
‘संकटको यस्तो घडी नै कुनै पनि साझेदारीको सच्चा परीक्षा हो र यस कठिन घडीमा र त्यसपछिको समयमा समेत हामी अझै उत्थानशील, स्वस्थ, समृद्ध र आत्मनिर्भर नेपालको निर्माणप्रति प्रतिबद्ध छौं,’ अमेरिकी राजदूत र्यान्डी बेरीलाई उदृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘थप सयोगसँगै युएसएआइडीको नयाँ कोभिड–१९ प्रतिकार्य सहायता घोषणा गर्दछु ।’ यस सहायतामार्फत युएसएआइडीले नेपालमा वर्तमान संकटका सहायक प्रभावहरूलाई सम्बोधन गर्न सधैं सहकार्य गर्न तत्पर रहेको जानकारी पनि दूतावासले दिएको छ ।
‘विद्यमान साझेदारीका जगमा थप कार्य गर्दै अति प्रभावित पालिकाभित्रका अति जरुरी आवश्यकतालाई सम्बोधन गर्नका लागि खास गरी उक्त सहायता रकमले साना नेपाली व्यवसायहरूको आर्थिक पुनरोत्थानका निम्ति अत्यावश्यक वित्त परिचालन गर्नेछ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अमेरिकाले निजी क्षेत्रको लगानीबाट लाभ लिँदै उक्त सहायताले जोखिम युक्त क्षेत्रमा स्थानीय सरकार तथा निकायहरूलाई कोभिड–१९ का आर्थिक–सामाजिक प्रभाव सम्बन्धी मूल्यांकन, योजना तथा प्रतिकार्य सम्बन्धी कार्यमा सघाउने छ ।’
युएसएआइडीले स्थानीय स्तरमा जोखिम सञ्चार सञ्चालन, प्रयोगशाला प्रणालीको तयारी, केस पत्ता लगाउने कार्य तथा निगरानीको क्रियाशीलता र प्राविधिक विशेषज्ञहरूलाई प्रतिकार्य तथा पूर्व तयारीका निम्ति सहयोगका लागिसमेत स्वास्थ्य सहायता प्रदान गरेको जनाएको छ। अमेरिकाले नेपाल सरकारसँग ७० वर्षभन्दा लामो समयदेखि बलियो तथा सहकार्यमूलक साझेदारी गर्दै आइरहेको छ र यसमार्फत नेपालका कृषि, शिक्षा, स्वास्थ्य, शिक्षा तथा अन्य आर्थिक–सामाजिक क्षेत्रको विकासका सहयोगार्थ १ अर्ब ५० करोड डलरभन्दा बढीको सहायता उपलब्ध गराएको छ ।अन्नपूर्णबाट































प्रतिक्रिया