काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले मधेशीको राष्ट्रियतामाथि शंका नगर्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा संविधानको दोश्रो संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले राष्ट्रियतामा शंका नगर्न आग्रह गरेका हुन् । ‘राष्ट्रियतामा शंका नगर्न अनुरोध गर्दछु । नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताप्रति हाम्रो दुई मत छैन’–उनले भने–‘हामी पटक पटक भनिरहेका छाैँ । तर पनि अर्नगल कुरा सरकारपक्षबाट आएको छ । जुन आफैमा गलत छ । यस किमिका गम्भीर विषयमा म मात्रै राष्ट्रवादी हुँ अरु होइनन् भन्ने कुराको कल्पना नगर्नुहोस् मेरो अनुरोध छ ।’
उनले सरकारले संविधान संशोधनको प्रस्ताव बनाउँदा भूभागसँग सम्बन्धीत विषय भएकाले संविधानको धारा ४ को क र ख लाई पनि हेर्नुपर्नेमा ध्यानाकर्षण गराए । उनले भने–‘सुगौली सन्धि भएकै हो । हार वा जितको कुरा होइन । समय सापेक्ष सुगौली सन्धि भएको हो । त्यसपछि देशले विभिन्न सन्धि गरेको छ । महाकाली सन्धि गरेको छ । सन् १९५० को सन्धि गरेको छ । कस्ले कस्ले गरेको हो ? आत्मालाई साँझी राखेर आज सोचोस् । यो इतिहासको कालखण्डमा के के गर्नुभयो ? राष्ट्रवाद त्यो हो । कस्ले भूमि गुमाए ? ।’
उनले भूमि फिर्ता गर्नका लागि सरकारबाट राम्रो कामको सुरुवात भएको भन्दै गम्भीर रुपले चिन्तन गरेर कुटनीतिक माध्यमबाट अगाडि बढ्नुपर्ने बताए ।































प्रतिक्रिया