काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा एक हजार मेगावाटभन्दा बढी विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिने बताएका छन् । संघीय संसद प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयसँग सम्बन्धित बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पुनले सो कुरा बताएका हुन् ।
आगामी वर्षमा १ हजार ३ सय मेगावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने उनको भनाइ छ । ‘आगामी आर्थिक वर्षभित्रमा ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका साथै निर्माणाधिन रसुवागढी, माथिल्लो सान्जेन, मध्य भोटेकोशी, निजी लगानीबाट प्रर्वधित अन्य आयोजनाबाट सम्पन्न भई करिब १३ सय मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिने छ ।’
आगामी आर्थिक वर्षको भदौ महिनासम्ममा माथिल्लो तामाकोशीको निर्माणको काम सम्पन्न हुने उनले बताए । जलविद्युत आयोजनाहरुको निर्माणका लागि प्रयोग हुने केही सामाग्रीको भन्सार दर बढाइएको भन्ने प्रश्नमा मन्त्री पुनले आगामी दिनमा संशोधन गरी अगाडि जान सकिने बताएका छन् । उनले भने–‘जलविद्युत आयोजनाहरुको निर्माणका क्रममा नेपालमा उत्पादन नहुने विभन्न निर्माण सामग्री तथा विद्युतीय उपकरणहरुमा मूल्य अभिवृद्धिकर छुट तथा एक प्रतिशत भन्सार लाग्दै आएको छ । यी निर्माण सामाग्रीहरुको छुट दिने सूचीमा विभिन्न समयमा सामान्य परिवर्तन गर्ने क्रममा पेनस्टक पाइपलाई यथावतै राखी स्टिल पातामा केही भन्सार थप भएता पनि आगामी दिनमा यसको आवश्यक संशोधन गर्दै लगिने छ ।’
त्यस्तै मन्त्री पुनले राष्ट्रिय गौरवका सिक्टा, रानीजमरा, कुलरिया, भेरी बबई डाइभर्सन र बबई सिंचाई आयोजनाको निर्माण कार्यलाई छिटो सम्पन्न गर्ने कार्यलाई तीव्रता दिइएको बताए । साथै महाकाली सिंचाई आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाइएको उनको भनाइ छ । पहाडी तथा हिमाली क्षेत्रमा सबै कृषि योग्य ठाउँहरुमा सौर्य उर्जाको प्रयोग गरी लिफ्ट सिंचाई योजना कार्यान्वयन गर्दे जाने र आगामी आर्थिक वर्षभित्रमा करिब ५ सय हेक्टर क्षेत्रमा कार्यक्रम संपन्न गर्ने मन्त्री पुनको भनाइ छ ।































प्रतिक्रिया