यस्ता छन् , डब्लूएचओका मास्क सम्बन्धी नयाँ मापदण्डहरु

यस्ता छन् , डब्लूएचओका मास्क सम्बन्धी नयाँ मापदण्डहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
विश्व स्वास्थ्य संस्था (डब्लूएचओ) ले मास्क सम्बन्धी आफ्नो मापदण्ड परिवर्तन गरेको छ । कोरोना संक्रमणबाट बच्न आफैं सुरक्षित हुनु आवश्यक छ । त्यसका लागि मास्क पहिलो प्राथमिकतामा पर्दछ । त्यसैले डब्लूएचओले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणबाट बच्न र रोक्नको लागि आम जनतामा फेस मास्क लगाउन अत्यन्तै आवश्यक भएको भन्दै मास्क सम्बन्धी मापदण्ड परिवर्तन गरेको हो । कोरोनाबाट हालसम्म विश्वभर ७० लाख भन्दा बढी संक्रमित भएका छन् । भने निश्चित उपचार पद्धति र औषधी नहुँदा यसबाट हालसम्म ४ लाख बढीले ज्यान गुमाइसकेका छन् ।

डब्लूएचओका महानिर्देशक डा.टेड्रोड अधोम गेब्रिजले भनेका छन् ‘हामीले उपलब्ध गरेका प्रमाणहरुको समीक्षा गरेर अन्तर्राष्ट्रिय विज्ञहरु, नागरिक समाज, समुहहरुको सुझावमा नयाँ मापदण्ड तयार पारेका छौं ।’

डब्लूएचओले तयार पारेको नयाँ मापदण्डहरु :
१. सम्पूर्ण स्वस्थ मानिसहरुका लागि कपडाको मास्क लगाउनु अनिवार्य छ । कपडाको मास्क तीन तहको हुनुपर्दछ । यससँगै अस्तर, पोलिस्टरको बाहिरी तह र बीचमा पोलिप्रोपाईलिनबाट बनाइएको फिल्टर हुनुपर्छ । मेडिकल ग्रेड मास्क केवल बिरामीहरुले लगाउनु पर्छ ।

२. सबै देशका सरकारले आम जनतालाई मास्क लगाउन प्रोत्साहित गर्नुपर्छ । जहाँ धेरै संक्रमण छ त्यहाँ व्यक्तिहरुले अनिवार्य रुपमा मास्क लगाउनु पर्छ । सार्वजनिक स्थानहरु र भीडभाड हुने स्थानहरु जस्तै, रेल्वे स्टेशनहरु, बस स्ट्यान्डहरु, अस्पतालहरु र पसलहरुमा मास्क लगाउनु एकदमै महत्वपूर्ण छ ।

३. जुन स्थानहरुमा संक्रमणको स्तर बढी छ त्यसस्थानमा सबै व्यक्तिहरुले मेडिकल–ग्रेड मास्कहरु प्रयोग गर्नुपर्दछ । स्वास्थ्यकर्मीहरु साथै अस्पतालहरुमा बिरामीहरु र त्यहाँ उपस्थित सबैले मेडिकल–ग्रेड मास्क लगाउनु पर्छ ।

४.मास्कको केही बेफाइदाहरु पनि छन् । यदि भिजेको अथवा चिसोमा कपडाको मास्क प्रयोग गर्दा संक्रमण हुने जोखिम बढी हुन्छ । यसका साथै मास्क लगाएपछि मानिसहरु निर्धक्क हुन्छन् र सामाजिक दुरीमा ध्यान दिदैनन् । डब्लूएचओले भनेको छ, कोरोनाबाट बच्न सामाजिक दुरी र समयमै हात धुने काम महत्वपूर्ण छ ।

Logo