प्रदेश नं. २ सरकारमा नीति तथा कार्यक्रम प्रस्तुत

प्रदेश नं. २ सरकारमा नीति तथा कार्यक्रम प्रस्तुत

केन्द्रबिन्दु
0
Shares

जनकपूर ।

प्रदेश नं. २ सरकारले प्रदेशसभामा अगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारका तर्फबाट मुख्यमन्त्री लालबाबु राउतले हस्तान्तरण गरेको नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले अपराह्न ३ बजे बसेको प्रदेशसभाको बैठकमा वाचन गरेका थिए ।

अठतालीस पृष्ठ लामो प्रदेश २ सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा कोभिड–१९ नियन्त्रण, व्यवस्थापन र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासदेखि कृषि र रोजगारीलाई प्राथमिकतामा राखिएको छ । कोभिड–१९ माहामारीले जनजीवन र जनजीविकामा पारेको असरलाई न्यून गर्न राहतका विशेष योजनाहरु सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । चालू वर्षमा उपलब्ध गराइएको राहतलाई आगामी आर्थिक वर्षको प्रथम तीन महिनासम्म आवश्यक स्थान र आवश्यक समुदायमा निरन्तरता दिँदै अहिलेसम्मको अनुभवका आधारमा स्थानीय तहको सहयोगमा सञ्चालित राहत सहयोग योजनालाई पुनःसंरचना गरिने भएको छ ।

रोजगारविहीन दैनिक ज्यालादारीमा काम गर्ने मजदूर, खेतीहर मजदूरहरु, भारत र तेस्रो मुलुकबाट फर्कने बेखर्ची श्रमिक र तिनका आश्रित तथा विपन्न वर्गका नागरिकलाई खाद्यान्नसहितको राहत तथा समुदाय स्वयंले सञ्चालन गर्ने निःशुल्क भोजन कार्यक्रमलाई निरन्तरता दिइएको छ । यस्तै नीति तथा कार्यक्रममा विपत्तिका बेला कृषि उत्पादनको बजार पहुँचका लागि कृषि एम्बुलेन्स, न्यूनतम मूल्यको प्रत्याभूति र खरिद तथा उपयुक्त भण्डारणमा प्रदेश सरकारले लगानी गर्ने बताइएको छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरी स्वरोजगारद्वारा आफ्नो सीप प्रयोग गरी जीवनयापनको नवीन अवसरहरु प्राप्त गर्न चाहने युवाका लागि तत्कालीन सीप, दक्षता, तालीम, लघु कर्जा, औजार खरिद गर्न अनुदान प्रदान गरी निजी क्षेत्र समेतको सहभागितामा स्वरोजगारीका अवसरहरुको पहिचान गरी बजारमा आधारित रोजगारी सिर्जना गरिने भएको छ । साथै, कृषि र गैरकृषि क्षेत्रसँग सम्बन्धित साना सिँचाइ, कुलो निर्माण, नदी नियन्त्रण, कृषि सडक, सामुदायिक भवन, विद्यालय भवन र अन्य संरचनाहरुको निर्माण र सम्भारमा ५० हजार युवालाई रोजगारी दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरी सरुवा रोग तथा आकस्मिक महामारीबाट बच्न एकीकृत स्वास्थ्य नीतिको साथै २०० श्ययासहितको प्रादेशिक सरुवा रोग नियन्त्रण अस्पताल बारा जिल्लाको कलैया उपमहानगरपालिका–१६ झिटकैया र महोत्तरीको जलेश्वरमा निर्माण गरिनेछ । देशमा भएको परिवर्तनका लागि विभिन्न आन्दोलन र विद्रोहमा सहादत दिएका शहीददेखि अहिले कोरोना महामारीमा अग्रपङ्क्तिमा खटिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहितको स्मरण गर्दै शुरु गरिएको नीति तथा कार्यक्रममा कोभिड–१९ महामारी जनस्वास्थ्यसँग सम्बन्धित जोखिम कम गर्न स्वास्थ्य क्षेत्रमा दोब्बर लगानी गरिने, स्वास्थ्य सामग्री, अस्पतालको संरचनाहरु तथा उपकरणहरु यथा समय खरिद निर्माण र सर्वसुलभ उपलब्धतामा जोड दिने उल्लेख छ ।

कृषि, देश तथा विदेशबाट आएकाहरुलाई स्वरोजगारी, साक्षर प्रदेशसहित शिक्षाका आधुनिकतामा जोड, प्रदेशको राजधानी जनकपुरधामका विकास र सौन्दर्यकरण, प्रत्येक निर्वाचन क्षेत्रका एक पोखरी सौन्दर्यकरण गरी पर्यटन प्रवर्धनसहितका कार्यक्रमहरु समावेश गरिएको छ । नीति तथा कार्यक्रममा मुख्यमन्त्री कृषि उत्थान कार्यक्रम, युवा स्वरोजगार तथा उद्यम विकास कार्यक्रम, बेटी बचाऊ बेटी पढाऊ, मुख्यमन्त्री दलित गरिब आवास योजना, प्रदेश आयोजना बैंक, प्रदेश विकास बैंक, प्रदेश लगानी प्रवर्धन बोर्ड, पूर्ण सुरक्षित मातृत्व प्रदेश, प्रादेशिक क्यान्सर अस्पताल, प्रादेशिक खेलकूद विकास प्राधिकरण गठन, प्रदेश लोकपाल आयोग, चुरे जोगाऊ मधेश बचाऊ, प्रदेश प्रमुख रोजगार कार्यक्रम र उच्चस्तरीय जातीय छुवाछूत अनुगमन समिति गठनसहितको विषयहरु पनि समावेश गरिएको छ ।रासस

Skip This
Skip This
Logo