काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये पछिल्लो समय संविधान संशोधन विधेयक दर्ता गर्ने प्रतिस्पर्धा चलेको छ । सरकारले संविधान संशोधन विधेयक दर्ता गराएसँगै विपक्षीदलबाट पनि सरकारलाई काउन्टर दिनेगरी विधेयक दर्ता हुँदा विधेयक दर्ता गर्ने प्रतिस्पर्धा चलेको हो । छैठौँ अधिवेशनमा सरकारी र गैरसरकारी गरी पाँच विधेयक दर्ता भएका छन् ।
त्यस्तै लकडाउन लम्बिँदै जाँदा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगको उत्पादन क्षमतामा कमी आउन थालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार लकडाउनको शुरुवाती चरणमा भन्दा हाल उद्योग सञ्चालनमा कमी आएको हो ।
विगत एक सातादेखि संघीय संसदको प्रतिनिधि सभामा ‘भारतीय चेली’ शब्दले चर्चा पाएको छ । पहिलो पटक गत जेठ १९ मा बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सत्तारुढ नेकपाकी सांसद गंगा चौधरीले नेपालको संसदमा भारतीय चेलीहरुले दादागिरी गर्न थालेको बताएकी थिइन् । सोही अभिव्यक्तिलाई लिएर संसदमा चर्को विवाद बढेको हो ।
त्यस्तैगरी आइतवार सुनको मूल्य बढेर प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ । सुनचाँदी व्यवसायी महासंघले साढे दुई महिनापछि नयाँ मूल्य तोक्दा प्रतितोला १० हजार ४ सय रुपैयाँ वृद्धि भएको हो । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।
सरकारले कोरोना संक्रमित भई अस्पताल भर्ना भएका व्यक्तिहरुलाई लक्षण नदेखिएकालाई ३ दिन र लक्षण देखिएकालाई १४ दिन अस्पतालको बसाईपछि परीक्षण नगरी डिस्चार्ज गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले कोरोना संक्रमितहरुको उपचार गर्ने अस्पतालहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया