भक्तपुरमा एक हजार क्षमताको होल्डिङ सेन्टर तयार

भक्तपुरमा एक हजार क्षमताको होल्डिङ सेन्टर तयार

केन्द्रबिन्दु
0
Shares

भक्तपुर ।

विदेशबाट उद्धार गरी ल्याउने प्रदेश नं. १ र २ का नागरिकलाई राख्न नेपाली सेनाले होल्डिङ सेन्टर तयार पारेको छ । सेन्टरमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ

सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया आजदेखि शुरु गरेको हो । कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनै पर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउन थालेको हो ।

पहिलो उडानका रूपमा म्यान्मारबाट सेनाको जहाजमार्फत आएका नेपालीमध्ये प्रदेश नं १ र २ का नागरिकलाई होल्डिङ सेन्टरमा राख्ने तयारीका साथ वीरदल गण सूर्यविनायक, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीसँगै भक्तपुर अस्पताल र सेनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली परिचालित छन् ।

सो सेन्टरमा नेपाल रेडक्रस सोसाइटीका भक्तपुर शाखाका स्वयंसेवक प्रदेश नं १ का नागरिकलाई होल्डिङ गर्ने सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पिरियर बैक्वेट र प्रदेश नं २ को नागरिक होल्डिङ गर्ने मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैंक्वेटमा खटिएको छ । नेपाली सेनाको टोलीले हिजो नै दुवै सेन्टरमा विदेशबाट आएकालाई होल्डिङ सेन्टरमा कसरी व्यवस्थापन गर्ने र के–के प्रक्रिया कसरी पूरा गर्ने भन्नेबारेमा अभ्याससमेत गरेको थियो ।

सो गणका गणपति एवं कर्नेल शिव पौडेल म्यानमारबाट आउने नागरिकलाई लिन सेनाको गाडीसहित त्रिभुवन विमानस्थल गएको जानकारी दिए । उनका अनुसार होल्डिङ सेन्टर आवश्यक सबै तयारी पूरा गरी सेना, सशस्त्र र नेपाल प्रहरीको टोली, भक्तपुर अस्पताल र सेनाका चिकित्सकसहितको स्वास्थ्य टोली, औषधि, एम्बुलेन्स, रेडक्रसको स्वयंसेवक, सिमकार्ड वितरण गर्ने, व्यक्तिगत विवरणसहितको फाराम भराउने, आराम गराउने, खानाको व्यवस्थापन गर्ने लगायत टोली तयारी अवस्थामा रहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसारको होल्डिङ सेन्टर निर्माण गरिएको उनले जानकारी दिए । उनका अनुसार म्यान्मारमा रहेका नेपाली नागरिक लिएर आएको टोलीमा प्रदेश नं १ का एक जना मात्रै रहेपछि उनलाई काठमाडौँकै सेन्टरमा पठाए पनि आजै अपराह्न अन्य मुलुकबाट आउने नागरिकलाई भने यहाँका दुईवटै होल्डिङ सेन्टरमा राखिने भएको छ ।

ती दुई प्रदेशका एक हजार व्यक्तिलाई राख्न सकिने गरी व्यवस्थापन गरेको, प्रदेशले व्यवस्था गरेको बसमा राखेर नपठाएसम्म बस्ने, आराम गर्ने र २० जनासम्म सुत्न मिल्ने गरी शैयाको व्यवस्था गरिएको छ । विदेशबाट फर्किएका भक्तपुरका नागरिकका लागि भने राधेराधेको इजी वे ट्रायल सेन्टरमा ल्याएर राखेर त्यहींबाट जिल्लाका चारवटै नगरपालिकाले आ–आफ्नो नगरका नागरिकको जिम्मेवारी लिएर क्वारेन्टाइनमा लैजाने व्यवस्था गरिएको छ ।

विदेशबाट फर्किएका भक्तपुरका नागरिकलाई राख्न सिसीएमसीले चारवटै नगरपालिकालाई क्वारेन्टाइनको व्यवस्था गर्न पत्राचार गरेर तयारी गरिरहेको, प्रदेश पठाउने नागरिकको हकमा दुई बैंक्वेटसँगै आवश्यकता परेमा खरिपाटीस्थित क्वारेन्टाइन, सानोथिमि क्याम्पस लगायतका क्षेत्रका क्वारेन्टाइनमा पूर्णरूपमा मानव अधिकारको पालना गर्ने गरी तयारी गरेको छ ।रासस

Skip This
Skip This
Logo