काठमाडौं ।
यतिबेला आम मानिसबीच कोरोना भाइरसबाहेक अर्को एउटा जैविक जीव सलहको चर्चा निकै छ । अफ्रिकाको केन्या, इथियोपिया, सोमालिया, सुडान, पाकिस्तान पसेको सलह यतिबेला भारत आइपुगेको छ ।
करोडौँको हुलमा रहेको सलहले त्यहाँको बाली खाइरहेका छन् । यो कीरा नेपाल आइपुग्छ ? कृषिप्रधान देश नेपालको बालीनाली कति नष्ट गर्छ ? सबैको चासोको विषय बनेको छ । यदि नेपाल भित्रिएमा यसले करिब चार दिनभित्र सबै नेपालको भूभागमा विचरण गर्न भ्याउँछ ।
नेपालमा यो कीरा आउन सक्ने तत्कालको सम्भावना न्यून रहेको विज्ञ बताउँछन् तर आउँदैन भन्न सक्ने अवस्था पनि नरहेको त्रिभुवन विश्वविद्यालयका किटविज्ञ डा. प्रेमबहादुर बुढाले बताए । उनका अनुसार हालै भएको अध्ययन अनुसार नेपालमा तत्काल आउन सक्ने अवस्था अन्य देशको तुलनामा कम छ ।
अब छिट्टै सुरु हुन लागेको मनसुनले यसलाई रोक्ने आँकलन विज्ञहरूले गरेका छन् । “मनसुन सुरु भयो अनि पानी पर्यो भने यो अगाडि बढ्दैन, भारतका महाराष्ट्र, राजस्थान, हरियाणा लगायतका सुक्खा क्षेत्रमा पानी परेको खण्डमा समूह एकत्रित हुन पाउँदैन,” उनले भने तर अर्को पुस्ता ब्युँतने खतरा बढी छ । त्यही रहँदाको अवस्थामा उसले अण्डा पार्छ । अहिले पारेको अण्डाबाट दुई हप्तापछि बच्चा निस्केर बयस्क भयो भने अझ ठूलो सङ्ख्यामा नेपाल आउन सक्ने सम्भावना रहेको उनी बताउँछन् ।
सलहको विचरण तापक्रम र हावाको वेगमा निर्भर हुने उनले बताए । उनका अनुसार अत्यधिक तापक्रम ३०–४० डिग्रीमाथि रहेमा र हावाको वेग नेपालतर्फ आएको अवस्थामा यसको भारतबाट सहज प्रवेश हुन सक्छ । रातमा हलचल नगर्ने तर दिउसो बढी सक्रिय रहने यो कीरा तापक्रम ४० डिग्री नाघेको खण्डमा रातमा पनि समूहमा एक स्थानबाट अर्को स्थानमा बसाइ सर्छ । त्यसैले सलहको जोखिम नेपालमा अझै छ ।
के हो सलह ?
सलह फट्याङ्ग्रा प्रजातिको एक कीरा हो । अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ ।
हाल देखिएको सहल विगत ७० वर्ष अघि देखिएको भन्दा २० गुणा ठूलो आकारको छ । “सुरुको अवस्थामा त्यति धेरै लामो दूरी तय गर्दैछ, दोस्रो चरणमा अलिक छिटो अघि बढ्छ, जब बयस्क हुन्छ, तब हावाको गतिमा उडेर माइलका माइल लामो यात्रामा अघि बढ्छ,” उनी भन्छन् । पछिल्लो समय रेकर्ड भए अनुसार प्रतिवर्गकिलोमिटर क्षेत्रमा चारदेखि आठ करोडको सङ्ख्यामा सलहको हुल एक स्थानबाट अर्को स्थानमा उड्छ ।गोरखापत्रबाट































प्रतिक्रिया