पोखरा।
पोखराका दलित अभियन्ताहरूले रुकुम घटना ढाकछोप गरिए सिंहदरबार जलाउने चेतावनी दिएका छन् । मल्ल थरकी युवतीलाई विवाहका लागि लिन रुकुम जाने नवराज विकसहित ६ जनाको हत्या भएको विरोधमा दलित संघसंस्थाहरूले मंगलबार पोखरामा आयोजना गरेको संयुक्त शान्तिपूर्ण विरोध प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै उनीहरूले रुकुम घटनालाई तोडमोड गरेर ढाकछोप गरिए सिंहदरबार जलाउने चेतावनी दिएका हुन् । जनप्रतिनिधिबाटै घटना ढाकछोप गर्ने प्रयास भइरहेको उनीहरूको आरोप छ ।
कार्यक्रममा बोल्दै पूर्वसांसद डिलबहादुर नेपाली (डिबी) ले घटना ढाकछोप गर्न पूर्वमन्त्रीदेखि जनप्रतिनिधि नै लागि परेको आरोप लगाए । उनले २१ औं शताब्दीमा आएर जातीय विभेद गर्दै बर्बरतापूर्ण हत्या हुनु निन्दनीय भएको बताए । उनले घटनाको निष्पक्ष छानबिन गर्नका लागि दलितको अगुवाइमा छानबिन समिति बनाउन माग गरे । विश्वकर्मा समाजका केन्द्रीय अध्यक्ष गणेश बराइलीले दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी रहने बताए । मिजार समाज कास्कीका अध्यक्ष उमेश सिकेले घटना ढाकछोप गरिए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए ।
परियार सेवा समाज कास्कीका अध्यक्ष किसान परियारले घटनालाई जातीय विभेद नभएको भनेर मुद्दालाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध सबै सचेत हुनुपर्नेमा जोड दिए । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य गोविन्द नेपालीले घटनालाई तोडमोड गरिए वा ढाकछोप गरिए सिंहदरबार जलाउने चेतावनी दिए । ‘हामी न्यायका लागि सरकारलाई कुरिरहेका छौं,’ उनले भने, ‘यदि दोषीलाई जन्मकैद वा मृत्युदण्ड दिइएन भने हामी सिंहदरबार जलाउँछौं, बालुवाटार जलाउँछौं, प्रधानमन्त्रीको कुर्सी जलाउँछौं ।’
दलित पत्रकार संघ गण्डकी प्रदेश अध्यक्ष रेम विकले जातीय विभेदका पक्षधरहरूले मुद्दालाई कमजोर बनाउन लकडाउनको बेला हुलहुज्जत गरेको तथा केटीको उमेर नपुगेकोजस्ता कुतर्क गरिरहेको भन्दै यसविरुद्ध सबै एकजुट भएर लड्नु पर्नेमा जोड दिए ।नागरिकबाट































प्रतिक्रिया