काभ्रेका स्थानीय तहमा रहेका क्वारेन्टाइनलाई १०० शैयाको बनाउने तयारी

काभ्रेका स्थानीय तहमा रहेका क्वारेन्टाइनलाई १०० शैयाको बनाउने तयारी

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।
भारतबाट दैनिक १०० जनाको हाराहारीमा काभ्रेका नागरिक फर्कन थालेपछि स्थानीय तहले क्वारेन्टाइनमा शैया सङ्ख्या थप्ने तयारी गरिरहेका छन् । विश्वव्यापीरुपमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि स्थानीय तहले यस अघि निर्माण गरेका क्वारेन्टाइन थप व्यवस्थित गर्दै शैया सङ्ख्या थप्ने तयारी गरेका हुन् ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले स्थानीय तहका क्वारेन्टाइनमा १०० सङ्ख्यामा शैया व्यवस्थित गर्न गत साता आग्रह गरेपछि केही स्थानीय तहले शैया सङ्ख्या थपिरहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार एक साता अघिसम्म ३४२ शैया सङ्ख्या रहेको स्थानीय तहका क्वारेन्टाइन हाल ५९१ शैया पुगेको छ । सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले काभ्रेका १३ स्थानीय तहले एक क्वारेन्टाइन व्यवस्थित गरेका हुन् ।

पोष्टले पछिल्ला दिनमा दैनिक १०० जनाको हाराहारीमा जिल्ला आउन थालेको जनाएको हो । भारतबाट आउने नागरिकलाई लक्षित गरी स्थानीय तहका क्वारेन्टाइन १०० शैयाको बनाउन आग्रह गरिएको केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । उनले भने, “स्थानीय तहका क्वारेन्टाइन १०० शैयाको बनाउन आग्रह गरिएको छ, सोही अनुसार व्यवस्थापन भइरहेको छ, एक हजार ३०० शैया बनाउने तयारी भइरहेको हो ।” केन्द्रका अनुसार मजदूरी लगायत विभिन्न कामका सिलसिलामा जिल्लाका एक हजार १२५ नागरिक भारतमा बस्दै आएको तथ्याङ्क छ ।

अधिकांश तहले क्वोरन्टाइनमा शैया सङ्ख्या थपिरहेको पोष्टका सदस्य एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । उनका अनुसार हाल धुलिखेल नगरपालिकामा ६५, बनेपामा ५०, पनौतीमा ६०, मण्डनदेउपुर नपामा १५, पाँचखालमा ५० तथा रोशी गाउँपालिकामा ४५, महाभारतमा ३५, चौँरीदेउराली गाउँपालिकमा ३०, भुम्लुमा ३०, बेथानचोकमा ३५, तेमालमा १०५ र खानीखोलामा १५ शैया व्यवस्थित गरिएको छ । साथै, नमोबुद्ध नपाले आज १८ बाट ५६ शैया तयार गरेको छ । धुलिखेल अस्पतालमा कार्यरत कर्मचारी प्रयोजनका लागि ५२ शैयाको क्वारेन्टाइन छ भने उक्त अस्पतालमा आठ र बनेपास्थित शिरमेमोरियल अस्पतालमा पाँच शैयाको आइसोलेशन कक्ष छ ।

नमोबुद्ध नगरप्रमुख टङ्कप्रसाद शर्माले नगरको स्रोत साधनले भ्याएसम्म क्वारेन्टाइन थप व्यवस्थित गर्दै शैया सङ्ख्या थपिएको बताए । “आवश्यकता अनुसार क्वारेन्टाइन÷शैया थप्नेछौँ”, उनले भने । जिल्लास्थित कमाण्ड पोष्टले क्वारेन्टाइनमा आवश्यक जनशक्ति तथा सुरक्षा उपलब्ध गराए क्वारेन्टाइन बनाउन कुनै समस्या नहुने उनको तर्क छ । उनले सीमानाकास्थित स्थानीय तहले सिधै समन्वय गरी आएका नगरका नागरिकलाई वडाध्यक्षको जिम्मामा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको बताए ।

पाँचखाल नगरप्रमुख महेश खरेलले पनि क्वारेन्टाइन थप व्यवस्थित गर्दै शैया सङ्ख्या थप्ने तयारी भइरहेको बताए । उनले भने, “भारतमा बस्दै आएका नगरवासी आउन थालेका छन्, उनीहरुलाई सावधानीपूर्वक क्वारेन्टाइनमा राख्न पूर्व तयारी त हुनैपर्यो ।”

पोष्टका अनुसार क्वारेन्टाइनमा बसाइका बेला तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको सङ्क्रमण देखिएकाको तत्काल परीक्षण गरिनेछ भने सङ्क्रमण नदेखिएकालाई ‘होम क्वारेन्टाइन’मा बसाइनेछ । भारतबाहेक अन्य देशबाट जिल्लाका नागरिक आए पूर्व तयारीस्वरुप सदरमुकाम तथा मुख्य शहरमा रहेका होटल तथा अन्य संरचनाको सूची तयार पारिएको प्रजिअ तिमल्सिनाले जानकारी दिए।रासस

Skip This
Logo