ललितपुर ।
ललितपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय उडान खुलेपछि नेपाल फर्कने वडाबासीलाई राख्नका लागि प्रत्येक वडामा होल्डिङ सेन्टर खोल्ने भएको छ । विदेशबाट नेपाल फर्कनेहरु कोरोना भाइरसबाट संक्रमित हुन सक्ने तर्फ सावधानी अपनाउँदै महानगरले होल्डिङ सेन्टर खोल्न लागेको हो ।
कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरालाई औल्याउँदै सरकारले असार दोस्रो सातापछि मात्रै अन्तर्राष्ट्रिय उडान खोल्ने बताएको छ । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले महानगरको प्रत्येक वडामा खोलिने यस्ता सेन्टरमा विदेशबाट फर्किएकाहरुलाई राखिने बताए । उक्त सेन्टरमा विदेशबाट आउनेहरु सिधै उक्त सेन्टरमा तोकिएको अवधि सम्म बसेर आवश्यक परीक्षणहरु सकेपछि मात्रै घर जान पाउनेछन् ।
सामाजिक विकास समितिका संयोजक तथा महानगर वडा नं २४ का अध्यक्ष दिनेश कार्कीले वडाहरुमा होल्डिङ सेन्टर राख्नका लागि त्यस्ता ठाउँहरुको पहिचान भइरहेको बताए । उनका अनुसार ती होल्डिङ सेन्टर सामुदायिक भवन, पार्टी प्यालेस लगायतका ठाउँमा संचालन गरिनेछ ।
सामुदायिक भवन र पार्टी प्यालेस नभएको ठाउँमा मात्रै विद्यालयलाई प्रयोग गरिने संयोजक कार्कीले जानकारी दिए । वडामा होल्डिङ सेन्टर पहिचानको लागि अध्यययन, वैदेशिक रोजगारी वा अन्य कारणले विदेश गएकाहरुको तथ्यांक संकलन समेत वडाहरुले गरिरहेका छन् ।































प्रतिक्रिया