काठमाडौं ।
भारत-नेपाल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको भारततर्फको सिवान जिल्लास्थित डुमरा गाउँ नजिकै पाइपमा प्वाल बनाएर डिजेल चोरी भएको छ । एक वर्षदेखि भारतको पटना सिवान र मोतिहारी हुँदै बारा जिल्लाको अमलेखगञ्जको नेपाल आयल निगम डिपोमा पेट्रोलियम पाइपलाइनमार्फत डिजेल आपूर्ति भइरहेको छ ।
भारतीय अखबार नवभारत टाइम्सका अनुसार बिहारको सिवान जिल्लाको डुमरा गाउँ नजिकै जमिन मुनि रहेको पाइपलाइनमा प्वाल बनाएर डिजेल चोरी भएको छ । करिब चार फीट तलको पाइपलाइनमा सानो पाइप जोडेर डिजेल चोरी गरिएको हो । भारतबाट पाइपलाइनमार्फत नेपालमा आपूर्ति हुने करोडौं रुपैयाँ बराबरको डिजेल चोरी भएको जिल्ला प्रशासन कार्यालय सिवानका अधिकारीहरुले अनुमान गरेका छन् ।
चोरी भएको तेल पाइपलाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खेतमा डिजेल देखेपछि भारतीय आयल निगमका अधिकारीहरुलाई जानकारी गराएका थिए । तर नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले अमलेखगञ्जबाट एक सय किलोमिटर परको नेपाल भारत पेट्रोलियम पाइपलाइनमा आक्रमण मात्रै भएको जानकारी आएको बताए । उनका अनुसार चोरले तेल चोर्ने प्रयास गरेको तर त्यहाँका अधिकारीहरुले थाहा पाएकाले चोर्न नपाएको जानकारी प्राप्त भएको बताए ।
अहिले अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट नियमितरुपमा प्रतिघण्टा २ लाख ५० हजारका दरले डिजेल आपूर्ति भइरहेको प्रवक्ता उपाध्यायको भनाइ छ । पाइपलाइनमा क्षति गर्नेलाई भारतीय अधिकारीले पक्राउ गरि कानुनी कारबाही सुरु गरिएको जानकारी आएको उनले बताए ।
भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइन निर्माण गरिएको छ । दक्षिण एसियाकै पहिलो क्रसबोर्डर मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको गत वर्ष भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।































प्रतिक्रिया