नयाँ दिल्ली ।
भारतमा बुधबार एकै दिनमा ६ हजार ५६६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ५८ हजार ३३३ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
बिहीबार बिहान जारी तथ्याङ्क अनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ४ हजार ५३१ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ६७ हजार ९९२ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ८६ हजार ११० जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।
कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँ मात्र ५६ हजार ९४८ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १८ हजार ५४५ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातमा १५ हजार १९५ संक्रमति रहेका छन् । दिल्लीमा १५ हजार २५७ जना कोरोना संक्रमित रहेका छन् ।
भारतमा दुई महिना भन्दा बढी समयदेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । रासस/एएनआई































प्रतिक्रिया