उपत्यकामा अझै लुकीछिपी भित्रिन्छन् मानिसहरु

उपत्यकामा अझै लुकीछिपी भित्रिन्छन् मानिसहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
काठमाडौं उपत्यका प्रवेशमा कडाइ गरेको बताइए पनि अझै लुकीछिपी तथा प्रहरीको आँखा छलेर आउने क्रम भने रोकिएको छैन ।

पास प्राप्त गाडीमा अनावश्यक व्यक्ति प्रवेश गर्ने गरेको र रातिको समयमा प्रहरीको जाँच कम हुने मौका छोपेर मानिस आउने गरेका छन् । प्रहरीले कडाइ गरेको बताए पनि त्यसरी छलेर आउने क्रम देखिएको उपत्यका नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समयमा काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । चन्द्रागिरि, टोखा, मैतीदेवी, बानेश्वर, कालीमाटी लगायत क्षेत्रमा बस्ने व्यक्तिमा कोभिड १९ देखिएको छ । मुलुकभरनै रोगको सङ्क्रमण दर बढ्दै जाँदा उपत्यकाको नाका सिल गर्ने कुरामा भने कुनै कञ्जुस्याईं गर्न नहुने सचिव श्रेष्ठ बताउँछन् ।

सरकारले बन्दाबन्दीको अवधि लम्ब्याउँदै उपत्यका प्रवेशमा कडाइ गरेको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा उपत्यकामा हुने आवागमनमा थप कडाइ गरेको प्रष्ट्याउँछन् । सो निर्णयलाई ७५ वटै जिल्लामा परिपत्र गरेर पठाइसकिएको उनको भनाइ छ । मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि उपत्यकाका १८ वटै स्थानीय तहमा परिपत्र पनि पठाएको छ । उपत्यका प्रवेश गर्ने सबै नाका अत्यावश्यक प्रयोजनका लागि बाहेक पूर्णरुपमा सिल गर्ने र लुकीछिपी आउने क्रमलाई रोक्ने गृहको निर्णयमा उल्लेख छ । श्रेष्ठका अनुसार उक्त निर्णय अझै प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन ।

गृह मन्त्रालयले बन्दाबन्दी (लकडाउन) प्रभावकारी भए पनि विभिन्न बहाना बनाएर आवागमन हुने गरेकाले पूर्णरुपमा पालना हुन नसकेको निष्कर्ष निकाल्दै एक हप्ता अघि आवागमनमा अझै कडाइ गर्ने निर्णय गरेको थियो । समन्वयात्मक रुपमा काम गर्न भनिए पनि उपत्यकाको स्थानीय तह, प्रहरी र प्रशासनको समन्वयमा पनि कमि देखिएको छ ।

पछिल्लो समयमा उपत्यका भित्रिने मानिसको अभिलेख राख्न थालिएको छ । गृह मन्त्रालयले स्थानीय तहको नेतृत्वमा प्रशासनको समन्वयमा लुकीछिपी प्रवेश गर्नेको खोजी गरी लगत सङ्कलन गर्ने निर्णय यसअघि गरेको थियो । स्थानीय तहसँगको समन्वयमा सबै सुरक्षा निकायले उपत्यका प्रवेश नाकाको जाँच र निगरानीमा थप कडाइ गर्ने भनिएको थियो तर नाकामा टिपोट गरेर अभिलेख राखिएको भए पनि ती मानिस कहाँ, किन र कसरी जान्छन् यकिन गर्न सकिएको छैन । आएका मानिस कुन स्थानीय तहमा गएर बसे भन्ने कुराको जानकारी नआएसम्म जोखिम कायम नै हुने मध्यपुरथिमी नगरपालिकाका प्रमुखसमेत रहेका उपत्यका नगरपालिका फोरमका सचिव श्रेष्ठ बताउँछन् ।

उपत्यकामा मानिसको प्रवेश हुँदा जनघनत्व बढ्छ । त्यसबाट रोगको सङ्क्रमण फैलियो भने नियन्त्रणमा समस्या पैदा हुन्छ । स्वास्थ्यकर्मी भारतीय सीमावर्ती क्षेत्रमा उपचारमा खटिएका बेला उपत्यकामा जोखिम बढ्यो भने त्यसले ठूलो असर गर्नेतर्फ बेलैमा ध्यान दिनुपर्ने बताउँछन् , फोरमका उपाध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन । पछिल्लो समयमा सरकारले कुनै पनि जिल्लामा मानिस आएमा स्रोत स्थानमै रोक्ने गरी सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार नै नाकामा प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताउँछन् ।

काठमाडौँ आउनका लागि प्रवेश गर्न चाहने व्यक्तिले प्रवेश गर्नुपूर्व उपलब्ध भएसम्म आरडिटी परीक्षण गराउनु पर्ने व्यवस्था गरिएको थियो । उक्त रिपोर्टका साथ उपत्यका प्रवेशका लागि गृह मन्त्रालयमा अनुमति माग्नु पर्नेछ । उपत्यका आउने सवारीलाई प्रवेश बिन्दुमा पुग्नु अगावै प्रस्थान बिन्दुमा नै रोक्न भनिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल गृह मन्त्रालयबाट आएको परिपत्र अनुसार उपत्यकाको सुरक्षा व्यवस्था र लकडाउन कार्यान्वयनमा स्थानीय प्रशासन थप सक्रिय भएको बताउँछन् । उपत्यकामा बिहानीको समयमा भने मानिसको चाप भित्री बजार क्षेत्रमा अत्यधिक बढ्न थालेको छ । बिहान १० बजे सम्म नै चाप रहने गरेको छ ।रासस

Skip This
Skip This
Logo