पुनः टुटफुटको संघारमा जनता समाजवादी पार्टी

पुनः टुटफुटको संघारमा जनता समाजवादी पार्टी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । तत्कालीन संघीय समाजावदी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी पुनः टुटफुटको संघारमा पुगेको छ । दुई पार्टीका नेतृत्व बीच पद र शक्ति बाँडफाँटको विषयमा मन मिल्न नसक्दा केही समय अगाडि एकताको घोषणा गरेको जसपा टुटफुटको संघारमा पुगको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वैशाख ८ गते राजनीतिक दल फुटाउन सहज हुने अध्यादेश ल्याएका थिए । सो अध्यादेशले कुनै पनि पार्टी फुटाउन संसदीय दलमा कूल संख्याको ४० प्रतिशत मत भए पार्टी फुटाउन सकिने व्यवस्था गरेको थियो । यो अध्यादेश ल्याउनु भन्दा पहिले पार्टी फुटाउन पार्टीको केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत मत आवश्यक थियाे । सोही अध्यादेशको आधारमा संघीय समाजवादी पार्टीका सात जना सांसदलले समाजवादी पार्टी फुटाउन थालेका थिए । तत्कालीन समाजवादी पार्टीमा कूल १७ सांसद रहेका छन् । पार्टी फुट्ने सुइको पाएको समाजवादी नेतृत्वले रातारात राष्ट्रिय जनता पार्टीसँग वैशाख १० गते पार्टी एकता गर्ने घोषणा गरेको थियो । पछि पार्टीभित्र र प्रतिपक्षी दलबाट चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीले वैशाख १२ गते अध्यादेश फिर्ता लिएका थिए ।

समाजवादी पार्टी र राजपाबीच वैशाख १० गते पार्टी एकता भएको थियो । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी राख्ने सहमति गरिएको थियो । सोही सहमति अनुसार निर्वाचन आयोगमा निवेदन दिए पनि दर्ता हुन सकेको छैन ।
पार्टी दर्ताकाे निवेदन दिएको ४५ दिनभित्र निर्वाचन आयोगमा नयाँ पार्टीको घोषणा पत्र, पार्टीको विधान, दुबै पार्टीका केन्द्रीय सदस्यको हस्ताक्षर र पार्टी एकता गर्दाको सहमति पत्र बुझाउनु पर्ने हुन्छ । तर अहिलेसम्म जनता समाजवादी पार्टीले बुझाउन सकेको छैन् । निवार्चन आयोगमा दिएको निवेदनको म्याद यही जेठ २६ गते पूरा हुँदैछ । निर्धारित समय सीमामा आवश्यक कागजात निर्वाचन आयोगमा उपलब्ध गराउन नसके फेरि पार्टी एकता गर्नुपर्ने हुुन्छ । तर राजपा र समाजवादी पार्टीका नेताहरुमा आ–आफ्नै अडान कायमै हुँदा अध्यक्ष को हुने भन्नेमा नै सहमति जुट्न सकेको छैन ।

राजपा श्रोतका अनुसार समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनता समाजवादी पार्टीको केन्द्रीय अध्यक्ष आफू बन्न चाहेका छन् । साथै संघीय परिषद्को अध्यक्ष बाबुराम भट्टराईलाई बनाउने प्रस्ताव राजपासँग गरेको श्रोतको भनाइ छ । तर राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि जसपाको अध्यक्ष छोड्ने पक्षमा छैनन् । साथै पार्टीको संयोजक महन्थ ठाकुरलाई बनाउन प्रस्ताव गरिए पनि कुनै अधिकार दिन नखोजिएको राजपाको आरोप छ । जसपामा विभिन्न समितिका अध्यक्षहरू राख्ने, वरिष्ठ नेता, सह–अध्यक्ष, अध्यक्ष, उपाध्यक्ष, महासचिव, सह–महासचिव र कोषाध्यक्ष राख्ने विषयमा सहमति भएपनि शीर्ष तहमा नै सहमति जुट्न सकेको छैन् ।

त्यस्तैगरी ७ सय १ जनाको केन्द्रीय समिति, राजनीतिक समिति १ सय ५१ सदस्य र कार्यकारिणी समिति ५५ जनासम्म पदाधिकारी हुने सहमति यसअघि नै भएको श्रोतको दाबी छ । साथै जनता समाजवादीको घोषणापत्र र विधान लेखनको काम भइरहेको समेत राजपाका एक नेताले जानकारी दिए । तर समाजवादी पार्टीका उपेन्द्र यादव र राजपाका राजेन्द्र महतोलाई नयाँ पार्टीमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा एक मत हुँन नसक्दा निर्धारित समयमा पार्टी एकता गर्ने सहमतीप्रति खतरा बढेको राजपाका एक नेताको भनाइ छ ।

Logo