काँग्रेसद्वारा कोरोना रोकथामका लागि युद्धस्तरमा कार्य गर्न अपिल

काँग्रेसद्वारा कोरोना रोकथामका लागि युद्धस्तरमा कार्य गर्न अपिल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोनाविरुद्धको सङ्घर्ष क्रममा सङ्क्रमितको सङ्ख्या व्यापक बढेको र तीन जनाको मृत्युसमेत भइसकेको स्थितिलाई गम्भीरतापूर्वक लिँदै सरकारलाई स्थितिको गहन समीक्षा गरेर युद्धस्तरमा कार्य गर्न अपिल र माग गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयमा आइतबार बसेको पार्टी पदाधिकारी बैठकले नेपालमा पहिलो सङ्क्रमित भेटिएको चार महिना र लकडाउन भएको दुई महिना पूरा हुँदासम्म अझै पनि परीक्षण सुस्त गतिमा हुनु, पर्याप्त स्वास्थ्य सामग्री नहुनु, क्वारेन्टाइनहरु नाम मात्रको हुनु, राहतको पर्याप्त प्याकेजको प्रबन्ध गर्न नसक्नुलाई सरकारको असक्षमताका रूपमा टिप्पणी गरेको छ ।

बैठकले काममा गति बढाउन, आवश्यक सम्पूर्ण प्रबन्ध गर्न र पिसिआर परीक्षण निःशुल्क रुपले व्यापक बढाउन सरकारसमक्ष माग गरेको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। भारतका विभिन्न शहरबाट सीमामा आइपुगेका नेपालीलाई व्यवस्थित ढङ्गले प्रवेश गराउन, क्वारेन्टाइनमा राख्न र पिसिआर परीक्षण पश्चात् मात्रै घर पुर्याउने प्रबन्ध गर्न बैठकले माग गरेको छ ।

सरकारले यो विषयमा गम्भीर ध्यान नदिएर व्यवस्थित योजना साथ कार्य नगरिरहेको चित्रले आगामी दिनमा स्थिति झनै जटिल बन्न सक्नेतर्फ सरकारलाई सतर्क गराउँदै बैठकले नागरिकको जीवनप्रति खेलबाड नगर्नसमेत सरकारलाई आग्रह गरेको उनले बताए । विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने व्यवस्थित कार्ययोजना निर्माण गर्न सरकारले ढिलाइ गरेको भन्दै बैठकले यथाशीध्र आवश्यक योजना सार्वजनिक गरेर अप्ठ्यारोमा परेका नेपालीको उद्धार थाल्न सरकारसमक्ष माग गरेको छ । अन्य विविध कारणले विदेशमा मृत्यु भएका करीब २०० भन्दा बढी नेपालीको शव नेपाल ल्याउने प्रबन्ध तत्काल मिलाएर शोकमा रहेका परिवारजनको पीडामा मल्हम लगाउने राज्यको कर्तव्य पालना गर्न बैठकले आग्रह गरेको छ ।

यसैगरी बैठकले सन् १८१६ को सुगौली सन्धिको ऐतिहासिक तथ्यको जगमा महाकाली पूर्वको लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भू–भाग भएको र ती भू–भागमा नेपालको हक निर्बाध ढङ्गले स्थापित हुनु पर्दछ भन्ने काँग्रेसले विगतदेखि नै राख्दै आएको प्रस्ट धारणालाई दोहोर्याएको छ । साथै बैठकले सरकारलाई उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्न पुनः माग गर्ने निर्णय गरेको छ ।

सरकारद्वारा संसदमा प्रस्तुत संविधान संशोधन सम्बन्धी विषयमा आवश्यक निर्णय गर्न पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय भएको मुख्यसचिव पौडेलले बताए । बैठकले एकल महिला र अपाङ्गता भएका नागरिकको भत्तामा हालै गरिएको कटौतीप्रति आपत्ति जनाउँदै त्यसलाई पुनः कार्यान्वयनमा ल्याउन र समयानुकूल वृद्धि गर्न माग गरेको छ ।

बैठकले कोरोनाबाट सिन्धुपाल्चोक, बाँके र गुल्मीमा मृत्यु भएका तीन नेपालीसँगै विदेशमा जीवन गुमाउने सबै नेपालीको आत्माको चिरशान्तिको कामना गर्दै उपचाररत सबै नेपालीको शीघ्र स्वास्थलाभको कामना गरेको छ । त्यस्तै जेलमा रहेका काँग्रेसका सांसद अफताब आलमको घर रौतहटमा नेपाल प्रहरीले मध्यरातिको समयमा घर घेरेर तोडफोडसमेत गरी आतङ्क मच्चाएको भन्दै बैठकले घटनाको निन्दा गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा विशेष आमन्त्रितका रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, राष्ट्रियसभामा प्रतिपक्षी नेता राधेश्याम अधिकारीलगायतको उपस्थिति थियो ।रासस

Skip This
Skip This
Logo