काठमाडौं ।
नेपालमा प्रशोधित पाम आयलको निर्यातमा भारतबाट फेरि पनि अवरोध भएको छ । भारतले गत बैशाख २९ अर्थात मे ११ देखि प्रशोधित नेपाली पाम आयलको आयातमा प्रतिबन्ध लगाएको छ । पछिल्लो समय नेपालबाट ठूलो परिमाणमा पाम आयल भारत निर्यात हुँदै आएको थियो तर यतिबेला भारतले एक्कासि तेल आयातमा रोक लगाएको छ।
नेपालको कूल निर्यात हुने बस्तु मध्ये पाम आयलको निर्यात करिव २५ प्रतिशत छ । केही समय अघिबाट मात्र पाम आयलको निर्यात थालेको नेपालले यसबाट ठूलै सफलता हासिल गरिरहेको छ । पाम आयलकै कारण पछिल्लो समय नेपालको वैदेशिक व्यापार घाटाको स्थिति समेत सुधारोन्मुख हुँदै आएको छ । तर, भारतको पुनःअवरोधले नेपालको आयात निर्यातको व्यापारिक सन्तुलनमा धक्का लाग्ने देखिएको छ।
पाम आयल तेलमा भारतले प्रतिबन्ध के कारणले लगाइएको हो भन्ने आधिकारीक धारणा भारतीय पक्षबाट आइ नसकेकाले अहिलेसम्म अन्योलकै अवस्था रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बताएका छन् ।
उनका अनुसार पाम आयल आयातका लागि व्यवसायिक आयातकर्ताको लाइसेन्समा समस्याका कारण रोकिएको हुन सक्छ। उनले भने, आयातको समस्या भारतीय पक्षमा रहेकाले निर्यातमा प्रतिबन्ध भएको हुनसक्छ ।
नेपालबाट चालु आर्थिक वर्षको १० महिनामा करिव १७ अर्ब रुपैयाँ बराबरको पाम आयल निकासी भएको भन्सार विभागको तथ्यांक छ । गत वर्ष सोही अवधिमा कुल ५ अर्ब ६५ करोड बराबरको मात्रै निकासी भएको थियो ।





























प्रतिक्रिया