नयाँ नक्सा : अब नेपालको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किमी

नयाँ नक्सा : अब नेपालको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किमी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल सरकारले भारतद्वारा अतिक्रमित कालापनी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा बुधबार औपचारिक रूपमा सार्वजनिक गरेको छ। भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले मन्त्रालयमा आयोजित कार्यक्रममा नयाँ नक्सा सार्वजनिक गरेकी हुन् ।

नयाँ नक्सामा अतिक्रमित भूमि थपिएपछि ३ सय ३५ वर्ग किलोमिटर क्षेत्रफल थपिएको छ। नयाँ नक्सा सार्वजनिकसँगै अब नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार पाँच सय १६ वर्ग किलोमिटर भएको छ । पुरानो नक्सा अनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ। नयाँ नक्सामा अतिक्रमित क्षेत्रका गुन्जी, नाभी, कुटी लगायत गाउँ समेटिएका छन्।

भूमि व्यवस्था मन्त्रालयका अनुसार सन् १८१६ मार्च ४ मा तत्कालीन इष्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धि अनुसार नयाँ नक्सा तयार गरी सार्वजनिक गरिएको हो। सुगौली सन्धिमा काली नदी र सो भन्दा पूर्वको भूभाग नेपाल राज्यको अभिन्न अंग भएको उल्लेख छ। तर प्रचलित नेपालको नक्सामा काली नदीपूर्वका गुन्जी, नाभी, कुटीलगायत गाउँ रहेको भूमि भाग समेटिएको छैन। त्यसैले गुन्जी, नाभी र कुटीसहित नसमेटिएको भूभाग देशको सिमानाभित्र पर्नेगरी तथा काली नदीको उद्गमस्थल लिम्पियाधुरासम्म नक्सामा देखिनेगरी नेपालको नक्सा अद्यावधिक गरिएको भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।

जेठ २ गते सार्वजनिक सरकारको वार्षिक नीति तथा कार्यक्रममा अतिक्रमित कालापानी, लिपुलेक तथा लिम्पियाधुरासमेत समेटेर नयाँ नक्सा जारी गर्ने प्रतिबद्धता गरिएको छ। त्यसको तीन दिनपछि मन्त्रिपरिषद् बैठकले कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको भूभाग समेटर नयाँ नक्सा छाप्ने निर्णय गरेको थियो।नागरिकबाट

Skip This
Logo