काठमाडौं ।
कोरोना भाइरस विश्वभरिनै महामारीका रुपमा फैलिएको छ। यसले गर्दा यति बेला विश्वका अधिकांश मुलुक लकडाउनमा छन् । यसरी विश्वनै लकडाउन हुँदा विश्व अर्थतन्त्रलाई चलायमान राख्ने आर्थिक गतिविधि हुने उद्योग, कलकारखाना, रेमिट्यान्स, पर्यटन व्यावसाय, होटल, रेष्टुरेन्ट, व्यापार व्यावसाय ठप्प हुँदा विश्व अर्थतन्त्र सङकटमा परेको छ।
नेपालमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो अवस्थामा रहेको छ। यसरी कोरोना भाइरस बढ्दै गएकोले यसलाई रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गत चैत ११ गतेदेखि मुलुकभर लकडाउन घोषणा गरेको छ । लकडाउन भएको आजसम्म ५६ दिन बितिसकेको छ।
५६ दिनसम्म मुलुक भरका केही अत्यावश्यक बाहेकका कुनै पनि उद्योग, कलकारखाना, व्यापार व्यावसाय बन्द रहेको छ। यसरी सबै क्षेत्र बन्द हुँदा अर्थतन्त्र तहसनहस हुने अवस्थामा आइपूगेको छ । यतिबेला कोरोना भाइरसको असर र लकडाउनले गर्दा ठूलो लगानी गरेका उद्योगी तथा व्यावसायीहरु व्यावसायलाई कसरी जिवन्त राख्ने भन्ने चिन्तामा छन् ।
यता सरकारले भने कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै बारम्बार लकडाउन थप्दै गएको छ । रोग नियन्त्रणको लागि लकडाउन भन्दा अर्को विकल्प नरहेको सरकारको जिकिर छ। प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै पटक आर्थिक भन्दा पहिलो प्राथमिकता भनेको मानिसको जीवन रक्षा रहेको तथा जीवन रहेमा आर्थिक गतिविधि भोलि गरौंला बताउँदै आएका छन् । तर प्रधानमन्त्रीले यसो भनिरहँदा लकडाउनले गर्दा हजारौं नागरिक रोगले भन्दा पनि भोकले मर्ने देखिएको छ।
यसरी मानिसको दैनिक जीवन कष्टकर भइरहेको अवस्थामा सरकारले व्यावसायको लागि तथा मानिसको जनजिविकाको लागि भने कुनै ठोस कदम नबनाई सधैं लकडाउन मात्रै थपि रहेको होटल व्यवसायी तथा सिदार्थ होटलका सञ्चालक कृष्ण न्यौपानेले बताएका छन् ।
उनका अनुसार सरकारले मानिसको दैनिक जीवन सहज बनाउन तथा वित्तिय क्षेत्रको व्यापार व्यावसाय, उद्योग सञ्चालन गर्ने अन्य कुनै मापदण्ड तथा योजना विना नै लकडाउन लम्ब्याएको छ । उनले भने, ‘सरकारले रोग नियन्त्रणको लागि लकडाउन गरेको पनि ५६ दिन पुगेको छ। तर, न त रोग नियन्त्रण गर्न सकेको देखिन्छ, न त कोरोना सङ्क्रमीत विभिन्न ठाउँबाट आएका मानिसहरूलाई राम्रो व्यवस्थापन गरेको छ । त्यसरी सरकारले मजदुर, रोजगार गुमाएका, खान नपाएका जनता तथा व्यावसायीको व्यवस्थापनको कुनै योजना बिना लकडाउन बढ्दै जानू सरकारले अभिभावकत्व जिम्मेवारी बहन गर्न नसक्नु हो ।’
अहिले धेरै जसो मुलुकहरुले लकडाउनसँगै मानिसको जीवन सहज बनाउन विभिन्न योजना बनाएर अगाडि बढेको छन् तर नेपाल सरकारले यसतर्फ ध्यान नदिएको उनको भनाइ छ ।
सरकारले यति बेला कोरोना नियन्त्रणको लागि भन्दै लकडाउन गरिरहँदा कोरोना लागेका बिरामीले उचित उपचार पाएका छैनन् । क्यारेन्टाइनमा बसेकालाई चेकजाँच वा खानपानको व्यवस्था राम्रो नभएको गुनासाहरु आइरहेका छन् । सरकारले न त अहिलेसम्म कुनै जनता तथा व्यावसायी लक्षित राहतका प्याकेज नै ल्याएको छ। न्यौपानेले भने, सरकारले संक्रमितको उचित पहिचानसमेत गर्न सकेको छैन । बरु संक्रमितको सङ्ख्या बढि रहेको छ । यसले गर्दा अब सरकारले अगाडिको योजना वा पछाडिको दुबै योजना बनाएर अगाडि बढ्नु पर्छ ।
त्यस्तै ,होटल एसोसिएसन अफ (हान) का महासचिव विनय श्रेष्ठले पनि अब लकडाउन लामो भएको र लकडाउनले देश आर्थिक रुपमा अझ गरिबी हुने बताए । उनका अनुसार अब सरकारले लकडाउनको विकल्प खोज्न जरुरी रहेको छ । कि त सरकारले सबै क्षेत्रलाई राहत पुर्याउन सक्नु पर्यो कि त रोगको पहिचान तथा सावधानी अपनाउँदै जोन बनाएर व्यापार व्यावसाय र नागरिकको जीवन सहज बनाउनेतर्फ जानू पर्छ।
उनले भने, ‘अब लकडाउन भन्दा पनि रोग नियन्त्रण तथा रोकथामका उपायलाई आत्मसाथ गर्दै आर्थिक गतिविधि अगाडि बढाउनु पर्छ। हामीले भारतको जस्तै भन्दा पनि फरक ढंगले अगाडि बढ्नु पर्नेछ।’































प्रतिक्रिया