काठमाडौं ।
राष्ट्रियसभाको बैठकमा सत्तापक्षका सांसदहरुले सरकारको नीति तथा कार्यक्रमको बचाउ गरेका छन् भने विपक्षी दलले सुधारको माग गरेका छन् ।
सोमबारको राष्ट्रियसभाको बैठकमा आगामी बर्षका लागि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै सत्तापक्षका सांसदहरुले नीति तथा कार्यक्रमको स्वागत गरेका छन् । उनीहरुले मुलुकको आवश्यकता अनुसार कार्यक्रम आएको भन्दै सरकारको बचाउ गरेका छन् । तर विपक्षी दलका सांसदहरुले भने कोरोनाले प्रभावित भएको जनताको जनजीवन उकास्ने तथा शिथिल बनेको अर्थतन्त्र उकास्ने कार्यक्रम आउन नसकेको भन्दै सुधारको आवश्यकता औल्याएका छन् ।
नेकपाका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले नीति र कार्यक्रम सामुहिक रुपमा प्रस्तुत भएको, राष्ट्रको आवश्यकता तथा जनताको चाहाना र सपनालाई सम्बोधन गरेको भन्दै सरकारको बचाउ गरे । सरकारले यसअघि भनेको र देखाएको सपना पूरा गरेको भन्दै उनले नेपाल सरकार अग्नि परीक्षामा खरो उत्रिएको दाबी गरे । सरकारले कयौ विकास निर्माणका कामसँगै समाजवाद प्रति प्रतिवद्धता जनाएको , राष्ट्रिय स्वाधिनताको पक्षमा बोलेको भन्दै नीति तथा कार्यक्रमको प्रशंसा गरे । उनले भारतीय सेना प्रमुखले दिएको अभिव्यक्तिले नेपाली जनताको अपमान गरेको भन्दै निन्दा एवं भत्र्सना पनि गरे ।
नेपाली कांग्रेसकी राष्ट्रियसभा सदस्य तारादेवी भट्टले लकडाउनपछि शिथिल बनेको अर्थतन्त्र उकास्ने किसिमका आर्थिक पुर्नसंरचनाको कार्यक्रम ल्याउन नसकेको टिप्पणी गरिन् ।
नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रमले भ्रष्टाचारलाई बढाउने त होइन भन्ने प्रशस्त आधार देखिएको भन्दै उनले शहर केन्द्रीत नभई स्थानीय निकायलाई शक्तिशाली बनाउनेतर्फ बजेट केन्द्रीत गर्नुपर्ने धारणा राखिन् । कृषि उत्पादनलाई दोब्बर बनाउने भनिए पनि मलखाद तथा सिंचाईको व्यवस्था मिलाउनेतर्फ कार्यक्रम समावेश नभएको, श्रमिक बजारको लिस्ट बनाउने भनिएको भएपनि श्रमलाई नीतिमा रुपान्तरण कसरी गर्ने भन्ने दृष्टिकोण नआएको बताइन् ।
लकडाउनका कारण सर्वसाधारणको दैनिकीसँगै मुलुकको आर्थिक क्षेत्र नराम्रोसँग प्रभावित भएको भन्दै उनले तत्काल राहत प्याकेज तथा आर्थिक पुर्नसंरचनाको प्याकेज ल्याउनु पर्नेमा जोड दिइन् । उनले सरकारले मुख्य रुपमा आर्थिक र स्वास्थ्य क्षेत्रमा परेको असरलाई सम्बोधन गर्नुपर्ने सुझाव दिइन् । उनले लिपुलेक र लिम्पीयाधुरा मात्रै नभई मुलुकभरका सीमा नाका मिचिने अवस्था रहेको भन्दै दीर्घकालिन सीमा सुरक्षामा प्रतिबद्ध हुनु पर्नेमा जोड दिइन् । उनले सीमाको विषयलाई लिएर नेपाल र नेपालीका बारेमा भारतीय सेना प्रमुखले दिएको अभिव्यक्ति गैह्जिम्मेवारपूर्ण भएको भन्दै भत्र्सना पनि गरिन् ।
त्यसैगरी नेकपाका राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले नीति तथा कार्यक्रम मुलुकका समस्या सम्बोधन गर्ने गरि आएको भन्दै समर्थन गरे । जनतालाई राहत, रोजगार, कृषि प्रवद्र्धन तथा लोकतन्त्रको सम्र्बद्धन सँगै सीमा विवादको सन्दर्भमा आफ्नो भूमि राखेर नक्सा सार्वजनिक गर्ने विषय समेत कार्यक्रममा समावेश भएको भन्दै प्रशंसा गरे ।
राष्ट्रियसभा सदस्य दिलकुमारी रावल पार्वतीले नीति तथा कार्यक्रमको समर्थन गरिन् । अहिले आमनागरिकको जीवन रक्षा, स्वास्थ्य उपचार र निरोगी नागरिक बनाउनु नै राज्यको मुख्य दायित्व भएको भन्दै त्यसतर्फ सरकारका कार्यक्रम उन्मुख भएको भन्दै स्वागत गरिन् । उनले स्वदेशमा रहेका र विदेशबाट फर्किएकालाई रोजगार प्रदान गर्ने तर्फ सरकारको ध्यान जानु पर्ने बताइन् ।































प्रतिक्रिया