काठमाडौं ।
शिखर इन्स्योरेन्सको ग्वार्काे शाखाले नवीन डिस्ट्रीब्युटर्सका ९० स्टाफको कोरोना भाइरस बीमा गरेको छ ।
कम्पनीले सो बीमा बापत ५४ हजार रुपैँयाँ बीमा शुल्क संकलन गरेको छ । यो बीमा कम्पनी हालसम्म कोरोना बीमा गर्ने कम्पनीहरु मध्ये सबैभन्दा अग्रस्थानमा रहेको छ । यस इन्स्योरेन्स कम्पनीले तीन साता यता १ करोड रुपैँयाँभन्दा बढीको कोरोना भाइरस बीमा शुल्क संकलन गरेको ग्वार्काे शाखाका प्रमुख सुमन खनालले बताए ।
शिखर इन्स्योरेन्सको नेपालभरीको शाखाहरुबाट कोरोना भाइरस बीमा प्राप्त गर्न सकिन्छ । कम्पनीका अनुसार हालसम्म ५० भन्दा बढी जिल्लाका १९ हजार भन्दा बढीले शिखर इन्स्योरेन्सबाट कोरोना भाइरस बीमा गराएका छन् । जसमा मुलुकभरीमा बीमा कम्पनीहरुले अहिले ९० हजारभन्दा बढीको कोरोना भाइरस बीमा गरिसकेका छन् ।
शिखरले नीम्बस, विभिन्न बैंक तथा वित्तीय संस्था र सहकारी संस्था लगायतका संस्थागत बीमा गरिसकेको प्रमुख खनालको भनाइ थियो । शिखरबाट कोरोना भाइरस बीमा गराउँदा एक लाख बराबरको बीमा गर्न व्यक्तिगतका लागि १ हजार र परिवार वा संस्थागतका लागि ६ सय लाग्नेछ । यस्तै ५० हजारको बीमाका लागि व्यक्तिगत ५ सय र परिवार वा संस्थागतका लागि ३ सय लाग्नेछ ।
पिसिआर प्रविधीबाट कोरोना भाइरस लागेको पुष्टि भएपछि संस्थाले बीमा बापतको रकम उपलब्ध गराउँछ । कम्पनीले ५० हजारदेखि एक लाखसम्मको बीमा योजना अघि सारेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम बढेसँगै कोरोना भाइरस बीमा गर्नेको संख्या बढ्न थालेको छ । कोरोना भाइरसको जोखिम बढेसँगै बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले कोरोना भाइरस सम्बन्धी बीमालेख जारी गर्न सबै निर्जिवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो ।































प्रतिक्रिया